काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका एक दर्जनभन्दा बढी प्रमुख सहरमा आक्रमण गरिरहेका छन्। रुसी सेनाको आक्रमणबाट हालसम्म १३७ जना युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
रुसले युक्रेनलाई हमला गरिसकेपछि रुसमाथि थप कडा प्रतिबन्धको माग उठिरहेको छ। साथै संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा पनि यसबारेमा छलफल हुनुपर्ने माग युक्रेनले गरेको छ।
राष्ट्रसंघको दाबीअनुसार लाखौँ मानिस युक्रेन छोडेर अन्य छिमेकी मुलुकतर्फ पुगेका छन्। रुसले युक्रेनमा हमला गरेपछि त्यहाँ सैनिक कानुन लागू भएको छ, जसअनुसार १८ देखि ६० वर्ष उमेर समूहका पुरुषले मुलुक छोड्न पाउने छैनन्। आफ्नो भूमिमा रुसी हमलाको डटेरै प्रतिवाद गर्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीकाे उद्घोष छ।
उता युक्रेनमा रुसको हमला रोक्न नसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको कडा आलोचना भएको छ। रिपब्लिकन पार्टीका सिनेटरहरुले बाइडेनको कडा शब्दमा आलोचना गरेका हुन्। ‘बाइडेन प्रशासनले रुस हमलाबारे सही नीति लिन सकेन। हामीले हामी समर्थिन गठबन्धनलाई पुटिनविरुद्ध उतार्न ढिलाइ गर्नै हुँदैन,’ रिपब्लिकनका सिनेट ग्राहमले ट्विट गरेका छन्।
रुसले युक्रेनलाई हमला गरिसकेपछि रुसमाथि थप कडा प्रतिबन्धको माग उठिरहेको छ। साथै संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा पनि यसबारेमा छलफल हुनुपर्ने माग युक्रेनले गरेको छ।
यता विदेश मन्त्री एन्टोनी बिल्केनले लाटभिया, लिथुआनिया, इस्टोनिया र टर्कीका समकक्षीलाई फोन गरेर युक्रेनमाथि रुसको आक्रमणको डटेर प्रतिवादका निम्ति तयार रहन आग्रह गरेका छन्। अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीले पनि युक्रेनमाथिको हमलाको निन्दा गर्दै भनेका छन्, ’यो आक्रमण रुसलाई निश्चय पनि भारी पर्नेछ। रुसले अब आर्थिक, कूटनीतिक र रणनीतिक कोणबाट ठूलै मूल्य चुकाउनेछ।’
पेलोसीले राष्ट्रपति बाइडेनलाई रुसमाथि कडा प्रतिबन्धको घोषणा कार्यान्वयनका निम्ति ध्यानाकर्षण गराएका छन् र नेटो गठबन्धनलाई रुसविरुद्ध एकतावद्ध भएर सशक्त प्रतिवाद गर्न आग्रह गरेका छन्।
रुसी सेना युक्रेनी राजधानी किभतर्फ अघि बढ्दै
रुसका सेना युक्रेनकाे राजधानी किभतर्फ अघि बढिरहेका छन्। युक्रेनलाई लक्षित गर्दै रुसले हालसम्म १ सय ६० वटा मिसाइल प्रहार गरेको छ। रुसले किभमा प्रवेश गरेपछि युक्रेनलाई थप कमजोर बनाउन सकिने रणनीति लिएको छ। किभबाट उत्तरी इलाका घेर्ने रुसको रणनीति छ।

रुसका सैनिकले तीनवटा आर्कबाट युक्रेनमा हमला गरिरएका छन्। युक्रेनले पनि स्थल, जल र हवाई मार्गबाट आक्रमणको प्रतिवाद गरिरहेको छ। रुसले राजधानी किभ नै घेर्ने रणनीति बनाएपछि युक्रेनले जवाफी प्रतिकारका निम्ति आवश्यक अत्याधुनिक हतियार अमेरिकाबाट मगाएको युक्रेनका विदेशमन्त्री दिमिद्रो कुलेवाले बताएका छन्।‘ रुसविरुद्ध सशक्त प्रतिवादका लागि चाहिने अत्याधुनिक र घातक हतियार पठाउन अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केनसँग संवाद गरेको छु,’ उनले भनेका छन्।
लाखौ युक्रेनी विस्थापित
युक्रेनमाथि रुसकाे हमलासँगै लाखौँ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। उनीहरु आफ्नो घर छोडेर छिमेकी राष्ट्रमा शरण लिन पुगेका छन्। उनीहरु रोमानिया र मोल्डोभातर्फ पुगेका हुन्। केही छिमेकी राष्ट्रहरुले शरणको निम्ति सहज पनि गरिदिएका छन्।
युद्धमा आणविक हतियार प्रयोगको भएसँगै युरोप नै संकटमा पर्ने विज्ञहरुले बताइरहेका छन्। युक्रेनसँग १५ वटा आणविक हतियार छन्। यता रुससँग अझै बढी संख्यामा आणविक हतियार छ। युक्रेनका राष्ट्रपतिका पूर्व सल्लाहकार इर्गोर नोभिकोभले भनेका छन्, ’युक्रेनसँग १५ थान आणविक हतियार छन्। रुससँग पनि प्रशस्तै छन्। यदि एउटा पनि मोर्टार गलत दिशामा पर्यो भने सिंगो युरोप नै संकटमा पर्नेछ। यो विषयमा पश्चिमा राष्ट्रहरुलाई भन्नुपर्छ,’ उनले भने।
रुसमाथि नयाँ प्रतिबन्धका निम्ति युरोपियन युनियन राजी
रुसमाथि नयाँ ढंगले प्रतिबन्ध लगाउनका निम्ति युरोपियन युनियन तयार भएको छ। रुसलाई आर्थिक रुपले इन्धनको हिसाबले र ढुवानीमा प्रतिबन्धन लगाउने निर्णय युरोपियन युनियन परिषद्ले गरेको छ। ’२७ राष्ट्र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सहमत भएका छौँ। अहिले आर्थिक, इन्धन र ढुवानीमा प्रतिबन्धन लगाए पनि आगामी दिनमा आवश्यकता अनुसारको निर्णय हामी लिनेछौँ,’ विज्ञप्तिमा भनिएको छ।
रुसले यदि आणविक हतियार प्रयोगको सोच बनाएको हो भने त्यो कुरा उसका निम्ति पनि घातक हुने चेतावनी फ्रान्सले दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन ड्रायनले नेटोसँग पनि आणविक हतियार रहेको बतएका हुन्। ‘आणविक हतियार प्रयोग गर्ने सोच पुटिनले बनाएका छन् भने उनका निम्ति पनि घातक छ। पुटिनले बुझुन्, नेटो कमजोर छैन ऊ पनि आणविक हतियारमा शक्तिशाली छ।’
लाटभियाका प्रधानमन्त्रीको आग्रह- रुसविरुद्ध विश्व नै लागौँ
रुसले युक्रेनमा हमला गरेपछि लाटभियाका प्रधानमन्त्री क्रिन्जस करिनले रुसलाई एक्ल्याउन युरोपियन युनियनले निर्णय लिने बेला आएको बताएका छन्। पुटिनले प्रजातन्त्रविरुद्ध युद्ध छेडेकाले उनलाई विश्वबाटै अलग राख्नुपर्ने धारणा उनको छ।
‘प्रजातान्त्रिक अभ्यास गरिरहेको युक्रेनलाई हमला गर्ने रुसले युरोपलाई पनि बाँकी नराख्न सक्छ। यस्ता घातक सिद्धान्त भएका पुटिन र उनको राज्य स्वीकार्य नहुने सन्देश हामीले दिने बेला आइसक्यो,’ उनले भनेका छन्।
रुसले आफ्नो मुलुकमा हमला गरेकोबारे राष्ट्रसंघको मानव अधिकार परिषद्मा छलफल हुनुपर्ने माग युक्रेनले राखेको छ। ‘रुसको यो हमला मानवताविरुद्धको अपराध हो। रुसले युक्रेनी नागरिकको मानव अधिकारको हनन गरेको छ, त्यसैले हामी मानव अधिकार परिषद्मा छलफलको माग गर्छौ,’ युक्रेनले भनेको छ।
युक्रेनको यस प्रस्तावलाई युरोपियन युनियनले पनि समर्थन जनाएको छ। यस विषयमा छलफलका निम्ति परिषद्का अध्यक्षले ४५ सदस्य राष्ट्रलाई जानकारी गराउनेछन्। प्रस्तावमा छलफल गराउन सामान्य बहुमत भए पुग्छ।
–समाचार एजेन्सीहरुको सहयोगमा