काठमाडौं– नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ। रुस र युक्रेनबीचको तनावका विषयमा परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेको हो।
युक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको परराष्ट्रले जनाएको छ। साथै तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघको सदस्य नेपालले बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको छ। युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानविपरीत रहेको नेपालको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र साथै कूटनीतिक र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ।’