काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा मंगलबार डा. विकास लामिछाने नियुक्त भए। प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्। तर लामीछाने नियुक्त भएसँगै विवादित बनेको छ। डा. लामीछानेको नाम उपकुलपति सिफारिस समितिले सिफारीस नै नगरेको अवस्थामा बालुवाटारको जोडबलमा दोस्रो पटक सिफारिस गराएर नियुक्ति गरिएको आरोप लागेको छ।
प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगिता भण्डारीको गत मंसिर २६ मा पदावधी सकिएपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो। जसमा १६ जनाको आवेदन परेको थियो।
उपकुलपति सिफारिसका लागि प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको समिति गठन गरिएको थियो।
मन्त्रालय स्रोतका अनुसार सिफारिस भएकाहरुमा प्रा. डा. ऋषिकेशनारायण श्रेष्ठ, प्रा.डा. नारायणविक्रम थापा र प्रा.डा. रामेश कोइरालाको नाम थियो। डा. विकास लामिछानेको नाम तीन जनाभित्र अटाएको थिएन। तर, तीनजनाभित्र नाम नै सिफारीस नभएका लामिछाने उपकुलपतिमा नियुक्त भए।
यही समितिले पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको थियो। जसमा मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, मनिपाल अस्पतालका प्राध्यापक डा. प्रदीप घिमिरे शर्मा, सहिद गंगालाल हृदयरोग केन्द्रका प्रा. डा. रामेश कोइराला, न्याम्सका प्रा. डा. ऋषिकेश नारायण श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. विकास लामिछानेलाई राखेको थियो। उनीहरुमध्येबाट पनि समितिले तीन जनाको नाम सिफारीस गरेको थियो।
मन्त्रालय स्रोतका अनुसार सिफारिस भएकाहरुमा प्रा. डा. ऋषिकेशनारायण श्रेष्ठ, प्रा.डा. नारायणविक्रम थापा र प्रा.डा. रामेश कोइरालाको नाम थियो। डा. विकास लामिछानेको नाम तीन जनाभित्र अटाएको थिएन। तर, तीनजनाभित्र नाम नै सिफारीस नभएका लामिछाने उपकुलपतिमा नियुक्त भए।
डा. लामिछानेलाई नियुक्त गर्न माग गर्दै दाङका नेता तथा नागरिक अगुवाहरु एक पत्र लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। उक्त भेटपछि बालुवाटार सिफारिस पत्र फिर्ता गर्दै डा. लामिछानेको नाम थप्न दबाब दिएको थियो।
उक्त दबाबपछि डा. लामिछानेको नाम समेट्दै अर्को सिफारिस पत्र पठाएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ। मन्त्रालय स्रोतले भन्यो, ‘यताबाट पहिला सिफारीस भएको नाममा डा. लामिछानेको नाम थिएन। तर अन्तिममा बालुवाटारबाट सिफारिस भएको पत्र नै फिर्ता आयो, त्यसपछि डा. लामिछानेको नाम पहिलो नम्बरमा राखेर पठाइएको हो।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रिया सुरु भएको दुई महिना पछि उपकुलपतिको टुंगो लागेको हो। पहिलो चरणको तीन जनाको नाम सिफारीस हुँदा प्रधानमन्त्रीलाई उपकुलपति नियुक्त गर्न सकस भएको थियो। पहिला सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा ऋषिकेश नारायण श्रेष्ठ, दोस्रोमा रामेश कोइराला र तेस्रोमा नारायण विक्रम थापा रहेका थिए। तर, बालुवाटारले डा. लामिछानेको नाम थप्न दबाब दिएपछि सिफारिस समितिले पहिलो नम्बरमा राखेको दुई सातापछि राप्तीले उपकुलपति पाएको हो।
स्रोतले भन्यो, 'डा. लामिछानेको नाम एक नम्बरमा राखिएपछि उहाँकै नाममा नियुक्ति भएर आयो।'