किभ- युक्रेन-रुसबीचको तनाव बढ्दै गएपछि तेलको मूल्य बढेको छ। युक्रेन-रुस तनावले विश्वभरको आपूर्ति श्रृंखला भत्किने भयका कारण माग बढेपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बेन्चमार्कमा कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो। रुसले मंगलबार विद्रोही समूहको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिएको हो।
बेलायतसहितका धेरै पश्चिम मुलुकहरुले रुसको उक्त कदमको आलोचना गर्दै प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। साउदी अरबपछि रुस कच्चा तेलको दोस्रो ठूलो निर्यातकर्ता मुलुक हो। यससँगै रुस विश्वकै सबैभन्दा बढी प्राकृतिक ग्यास उत्पादक मुलुक पनि हो।
यदि बेलायतसहितका पश्चिमा मुलुकरुले प्रतिबन्ध लगाएको अवस्थामा रुसको कच्चा तेलको निर्यातमा गिरावट आउने र यसले विश्वव्यापी अर्थतन्त्रलाई असर गर्ने विज्ञहरुले बताएका छन्।