शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसको आक्रामक उपस्थितिले युक्रेनमा आएको राष्ट्रवादको उछाल

रुसको आक्रामक उपस्थितिले युक्रेनमा आएको राष्ट्रवादको उछाल

भ्यालिदिमिर पुटिन ६९ वर्षको उमेरमा इतिहास बनेको रुसको साखलाई वर्तमानमा साकार बनाउन लागिपरेका छन्। उनको नीति प्रस्ट छ- नाटोले सदस्य बनाउन खोजेको युक्रेनलाई रुसमा गाभ्ने र थप ४ करोड ४० लाख जनसंख्यालाई पनि शासन गर्ने।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

अप्रत्यासित रुपमा रसियन सेना र बख्तरबन्द युक्रेनको सीमा क्षेत्रमा बाक्लै तैनाथ छन्। रुसले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले चेतावनी दिइरहेको छ। यी दुई राष्ट्रले एकअर्काविरुद्ध आगो ओकलिरहेका दृश्य शीत युद्ध ताकाको भन्दा कम छैन।

National life

रुस र अमेरिकाबीचको तनाव हेर्दा इतिहासमा गुज्रिसकेको शीत युद्ध फेरि विश्वको सामुन्ने आइपरेको भान हुन्छ। ११ फेब्रुअरीमा युरोपियन मुलुकहरुसँगको छलफपछि ह्वाइटहाउसले १६ फेब्रुअरीमा भन्यो रुसले यसै साता युक्रेनमाथि हमला गर्दैछ। हालसम्म अमेरिकी दाबी प्रमाणित भएको छैन। बरु युक्रेन मामिलालाई लिएर रुस र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन्। रुसले युक्रेनमा तैनाथ सेनामध्ये आधा सेना फिर्ता गरेको बताइरहेको छ भने अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले भने सीमा क्षेत्रमा तनाव झन् बढ्दै गएको दाबी गर्दै आएका छन्।

अमेरिकी अधिकारीहरुले रुसले सीमा क्षेत्रमा १ लाख ३० हजार सैनिक तैनाथ गरेको दाबी गरिरहेको छ। उनीहरुले अमेरिकी साथ प्राप्त गरे युक्रेनका १ लाख ७५ हजार सैनिकलाई पराजित गर्ने क्षमता राखेको अमेरिकी अधिकारीहरुको दाबी छ। युक्रेनी सेनालाई  अमेरिकाले हातहतियार र तालिम दिए पनि उनीहरु रुसका सेनालाई पराजित गर्न अझै सक्षम छैनन्।

डिसेम्बर २ मा युक्रेनको अवडिभकामा अग्रपंक्तिमा गस्ती गर्दै एक युक्रेनी सिपाही। 

Laxmi sunrise bank
kumari

युक्रेनलाई ढाडस दिनका निम्ति ८ हजार ५ सय अमेरिकी सेना उच्च सतर्कताको अवस्थामा छन्। युक्रेनमाथि सैन्य आक्रमण भएको खण्डमा सोभियत कालपछि अस्थिर यो क्षेत्र झनै अस्थिर हुनेछ। यसको अर्को चुनौती भनेको सन् १९९० देखि युरोपको कायम सुरक्षा संरचनामा पनि धक्का पुग्नेछ।

रुसले युरोपियन सुरक्षा संरचनालाई परिमार्जनका लागि दूरगामी सूची बनाएको छ। रुसको त्यस चाहनालाई नाटो गठबन्धन र अमेरिकाले अस्वीकार गरिरहेका छन्। रुसी अधिकारीहरुले युक्रेनमाथि हमला गर्ने कुनै योजना नरहेको दाबी गर्दैछन्। यस विषयमा राष्ट्रपति पुटिनको मौनतालाई नाटो र अमेरिकाले चुनौतीका रुपमा लिइरहेको छ।

युक्रेन संकटको कारण के हो?

सोभियत संघ ढलेसँगै नाटोले पूर्वी क्षेत्रमा पनि आफूलाई विस्तार गर्यो। कम्युनिस्ट प्रभाव भएका युरोपेली राष्ट्रहरुलाई पनि आफ्नो सदस्य बनायो। रुसी साम्राज्यबाट स्वतन्त्रता पाएका बाल्टिक मुलुकहरु लिथुआनिया, लाटभिया र इस्टोनिया नाटोका सदस्य बने। पोल्याण्ड, रोमानिया र अन्य मुलुकहरु पनि त्यस गठबन्धनमा आवद्ध भए। सोभियतलाई चुनौती दिनेगरी नाटो अघि मात्रै बढेन, रुसको सय माइल नजिक नै आइपुग्यो। सन् २००८ मा नाटोले युक्रेनलाई पनि त्यसकै सदस्य बनाउने योजना बनायो। यो योजना साकारको सम्भावना भने अझै टाढा रहेको भनिन्छ।

अमेरिकी अधिकारीहरुले रुसले सीमा क्षेत्रमा १ लाख ३० हजार सैनिक तैनाथ गरेको दाबी गरिरहेको छ। उनीहरुले अमेरिकी साथ प्राप्त गरे युक्रेनका १ लाख ७५ हजार सैनिकलाई पराजित गर्ने क्षमता राखेको अमेरिकी अधिकारीहरुको दाबी छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत संघको पतनलाई प्रकोपका रुपमा बुझ्छन्। सोभियत संघ कमजोर हुँदा विश्व शक्तिमा रुसको स्थिति कमजोर बनेको र आफ्नो मुलुक पश्चिमा राष्ट्रको शिकार बनिरहेको उनको बुझाइ छ। विश्वमा रुसको साख फर्काउन पुटिन २२ वर्षदेखि लागिपरेका छन्। भूराजनीतिमा आफ्नो प्रभाव बढाउन सैन्य शक्ति बढाइरहेका छन्। पुटिनको बुझाइमा नाटोको विस्तार खतरनाक छ। अझ युक्रेन नै नाटोमा जाँदा सुरक्षाको दृष्टिकोणले रुसमाथि झनै खतरा हुनेमा पुटिन प्रस्ट छन्। त्यसैले नाटोको विस्तारविरुद्ध पुटिन निकै कडा रुपमा प्रस्तुत हुन्छन्। पुटिनले बारम्बार भन्ने गरेका छन्, युक्रेनमा अमेरिकी लडाकु सेना तैनाथ छन् र रुसमाथि हमलाका लागि अमेरिकी ब्यालेस्टिक मिसाइल राखिएका छन्। पुटिनको यो आरोपलाई अमेरिका र नाटो गठबन्धनले भने खण्डन गर्छन्।

युक्रेन र बेलारुस आधारभूत रुपमा रुसको पाटो रहेको दाबी पुटिनले गरिरहेका छन्। सांस्कृतिक र ऐतिहासिक कुरा मिल्ने भएकाले यी दुई राष्ट्र रुसमा एकीकरण हुनुपर्ने उनको मत छ। यसका निम्ति उनले पहलसमेत गरिरहेका छन्। यो अभियान पुटिन केन्द्रित हुँदै गर्दा सन् २०१४ मा नाटकीय रुपमा युक्रेनमा राजनीतिक परिवर्तन भयो। युक्रेनमा चर्केको आन्दोलनले पुटिन निकट राष्ट्रपतिलाई सत्ताच्यूत गरिदियो। त्यस आन्दोलन चर्किनु अगावै रुसले युक्रेनको क्रिमियालाई आफ्नो भूभागमा गाभिसकेको थियो भने युक्रेनको डोबास क्षेत्रको कब्जाका निम्ति त्यहाँको पृथकतावादी समूहलाई सहयोग गरेर गृह युद्ध चलायो। त्यस युद्धमा १३ हजार मानिस मरे।
सन् २०१५ मा युद्धविरामको घोषणा भयो। योसँगै डोनबास क्षेत्रमा रुसले दबदबा कायम गर्यो। तर युद्ध मच्चाएको प्रति पनि रुस अलोकप्रिय बन्यो र बेलाबखत रुसलाई युद्धविरामको सम्झौता उल्लंघनको आरोप समेत लाग्यो।  

पुटिन के चाहन्छन्?

पुटिन रुसको ३० वर्षअघिकै प्रभुत्व स्थापित गर्न चाहन्छन्। त्यसैले ६९ वर्षको उमेरमा इतिहास बनेको रुसको साखलाई वर्तमानमा साकार बनाउन लागिपरेका छन्। त्यसैले उनको नीति प्रस्ट छ नाटोले सदस्य बनाउन खोजेको युक्रेनलाई रुसमा गाभ्ने र थप ४ करोड ४० लाख जनसंख्यालाई पनि शासन गर्ने।

एक साताको बीचमा युक्रेनको पूर्वी भागमा गोलाबारी मच्चाउँदै रुसले त्यस क्षेत्र खाली गर्दै सेनाको गस्ती बढाएको छ। अमेरिकी दाबी छ युक्रेनमा हमला गर्दै कसको हत्या गर्ने भनेर रुसले सूची समेत तयार गरेको छ।

मस्कोमा डिसेम्बर २३ मा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। 

जे होस्, युक्रेनमाथिको हमला महँगो पर्ने स्थितिमा पुटिनले के गर्लान् भन्ने अझै स्पस्ट छैन। यता रुसप्रति लचक हुने तर उसबाट अलग रहने कुरा युक्रेनले प्रस्ट पारेमा हुने पुटिनको मुभ पनि प्रतीक्षारत छ।

नाटो र अमेरिकालाई गत डिसेम्बरमा पत्राचार गर्दै रुसले आफूमाथि कुनै पनि सुरक्षा खतरा नहुने प्रतिवद्धताको माग गरेको छ। यसको निम्ति रुसको शर्त एउटै छ युक्रेन नाटोको सदस्य बन्नै भएन र पूर्वी युरोपमा नाटोको उपस्थिति कम हुनुपर्यो। सन् २०१५ को युद्धविरामको पालना हुनुपर्यो।

रुसका मुख्य मागलाई पश्चिमाहरुले बेवास्ता मात्रै गरेनन्, रुसमाथि प्रतिबन्धको धम्की पनि दिए। रुसको आक्रामक उपस्थितिले युक्रेनमा राष्ट्रवादको उछाल छ। युक्रेनीहरुले रुससँग भिड्नका निम्ति गुरिल्ला तयार गर्दैछन्।

डोनाल्ड ट्रम्प पुटिनप्रति उदार नै थिए तर अहिले बाइडेनको अडान र उपस्थिति पुटिनका निम्ति चुनौती बनेको छ। त्यसैले घरेलु राष्ट्रवादी समूहलाई पुटिनले उर्जा भरिरहेका छन्। राष्ट्रवादी समूहलाई उर्जावान राखिरहँदा आफूमाथि बाहिरी शक्तिको आक्रमणको प्रतिवादमा सहज हुने उनको विश्वास छ। गत वर्ष कोरोना महामारीका कारण आर्थिक संकटको स्थिति सामना गर्नुपर्दा प्रतिपक्षी दलले पुटिनविरुद्ध आन्दोलन चर्काएका थिए।

रुससँग प्रतिवादका लागि के छ अमेरिकी तयारी?

युक्रेनलाई रुसले तीनतिरबाट घेरेको दाबीसहित छिट्टै आक्रमण तयारी गरेको दाबी अमेरिकाले गरेको थियो। रुसले झुक्याएर आक्रमण गर्न खोजेको अमेरिकी अधिकारीहरुको दाबी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि आक्रमणको सम्भावना बढेको दाबी गरेका थिए। डिसेम्बरको सुरुवातमा बाइडेनले आफ्नो प्रशासनलाई ब्रिफिङ गर्दै युक्रेनमा सेना पठाउने समय नआएको बताएका थिए। युक्रेन नाटोको सदस्य नरहेको र सामूहिक प्रतिवादका निम्ति प्रतिवद्ध पनि नरहेको उनको भनाइ थियो।

यद्यपि अमेरिकाले युक्रेनलाई हातहतियार दिएर सहयोग गर्यो  भने रुसको सीमामा पर्ने नाटो गठबन्धनमा आवद्ध मुलुकमा सैन्य उपस्थिति पनि बढायो। अमेरिकाले त्यस क्षेत्रमा आठ हजार पाँच सय सैनिकलाई उच्च सतर्कतामा बस्न भनेको छ। रुसले युक्रेनलाई आक्रमण गरेको अवस्थामा प्रतिवादका लागि अमेरिका र नाटो तयारी अवस्थामा रहेको अधिकारीहरुको दाबी छ। रुसले युक्रेनमा हमला गरे अहिलेसम्कै खराब आर्थिक अवस्थाको सामना गर्नुपर्ने चेतावनी बाइडेनले दिएका छन्। अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा रुसलाई स्थान नदिने अमेरिकी चेतावनी छ। यसले युरोपमा  प्राकृतिक ग्यास निर्यात गर्ने रुसको सपनामा धक्का पुग्ने अमेरिकी बुझाइ छ। यस्तै, पुटिनको अन्य मुलुकमा रहेका निजी सम्पत्ति पनि फ्रिज गर्ने चेतावनी अमेरिकाले दिएको छ।

रुसको मागको विपरीत अमेरिकी अधिकारीहरुले आणविक हतियारको नियन्त्रण गर्ने किसिमले वार्ताको प्रस्ताव गरेका छन्। यस्तै, सैन्य अभ्यासमा पारदर्शिताको विकल्प अघि बढाइरहेका छन्। यी प्रस्तावप्रति रुस विश्वस्त हुन सकेको छैन। यता युरोपियन नेताहरुले आफ्नै तरिकाले रुससँग वार्ता गरिरहेका छन्।

रुसका मुख्य मागलाई पश्चिमाहरुले बेवास्ता मात्रै गरेनन्, रुसमाथि प्रतिबन्धको धम्की पनि दिए। रुसको आक्रामक उपस्थितिले युक्रेनमा राष्ट्रवादको उछाल छ। युक्रेनीहरुले रुससँग भिड्नका निम्ति गुरिल्ला तयार गर्दैछन्।

युक्रेनमा बढ्दो तनाव समाधानका निम्ति लिने निर्णय बाइडेन प्रशासनको परीक्षण पनि हो। अफगानिस्नाबाट सेना फिर्ता गरेपछि नाटो र अमेरिकाको आलोचना भइरहेको छ। पूर्वराष्ट्रपति ट्रम्पले नाटोको म्याद गुज्रिएको टिप्पणी गरेका थिए। यस्तो अवस्थामा नाटोको औचित्य पुष्टी गर्ने चुनौती बाइडेनलाई छ। रुससँगको बढ्दो द्वन्द्व र चीनले खडा गरेको सुरक्षा चुनौतीका कारणले पनि नाटोलाई मजबुद बनाउनुपर्ने बाइडेन प्रशासनको मत छ।  

युरोपले के गर्ला?

दोस्रो विश्वयुद्धपछि त्यस महाद्वीपमा शान्ति कायम गर्न मद्दत गरेको सुरक्षा संरचनालाई ध्वस्त बनाउने पुटिनको रणनीतिमा युरोपले के गर्ला भन्ने कुरा चाखको विषय बनेको छ। युरोपियनहरु यस मामिलामा विभक्त छन्। युक्रेन र रुसबीचको द्वन्द्वले युरोपियन युनियन र नाटोबीच पनि फाटो ल्याएको छ। एन्गेला मर्केल चान्सलरबाट विदा भएसँगै रुससँग संवाद गर्ने विश्वासिलो पात्र युरोपसँग छैन।

एंगेलाका उत्तराधिकारी ओलफ स्क्लोलजले जारी तनाव समाधानका लागि कुनै भूमिका निर्वाह नगरेको भन्दै आलोचना व्यहोरिरहेका छन्। रुससँग युरोपको गतिलै व्यापारिक सम्बन्ध छ। यदि रुसमाथि प्रतिबन्ध लागेमा युरोपले पनि संकट समाना गर्नुपर्ने हुन्छ। ग्यासका लागि युरोप रुससँगै निर्भर छ। विगतको विवादमा पनि पुटिनले ग्यासकै विषय उठाएर युरोपलाई तह लगाएका थिए। 

- डेन बिलेफ्स्की र रिचर्ड पेरेज-पेनाले न्युयोर्क टाइम्सका लागि तयार पारेको सामग्रीको भावानुवाद

प्रकाशित: Feb 22, 2022| 07:27 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।