नयाँ दिल्ली - बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डको सीबीआईको विशेष अदालतले चारो घोटालामा सोमा पाँच वर्ष जेल सजाय सुनाएको छ। त्यसैगरी अदालतले उनलाई ६० लाख जरिवाना तिर्नसमेत आदेश गरेको छ।
अदालतले १५ फेब्रुअरीमा उनलाई दोषी ठहर गरेको हो। लालुप्रसाद यादव सोमबार भिडियो कन्फरेन्समार्फत अदालती कारबाहीमा सहभागी भएका थिए। यद्पि अदालत परिसरमा भने ठूलो भिड जम्मा भएको थियो।
उनका वकिल प्रभात कुमारले भने, 'लालु यादवको उमेर, स्वास्थ्य तथा पशुपालन घोटालाको दोस्रो मामिलामा काटेको सजायको अवधिलाई हेरेर अदालतसँग हामीले न्यूनतम सजाय माग गरेका थियौं।'
उनले अदालतले उक्त आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्नेसमेत बताएका छन्। आरजेडीका नेतासमेत रहेका लालुका छोरा तेजस्वी यादवले भने, 'यो फैसाल नै होइन। यस फैसालविरुद्ध उच्च अदालतमा अपिल गर्नेछौं। आशा छ कि उच्च अदालतले लालुजीको पक्षमा फैसला गर्नेछ।'
सन् २०१७ मा चारो र पशुपालन घोटला तथा मन्य मामिलामा सजाय सुनाइएपछि लालु यादव आठ महिना राँचीको होटवारस्थित बिरसा मुण्डा जेलमा बसेका थिए भने ३१ महिना अस्पतालमा बसेका थिए।
सीबीआईले लालुका विरुद्ध ५७५ जनाले बयान दिएका थिए भने १५ ट्रक प्रमाण संकलन गरिएको थियो। तर, लालुको बचाउ भने २५ जनाले मात्रै बयान दिएका थिए।
९० को दशकमा चर्चित बनेको करोडौंको पशुपालन घोटाला काण्डमा सीबीआईले ६६ मुद्दा दर्ता गरेको थियो। जसमध्ये ६ मुद्दामा बिहारका तत्कालीन मुख्यमन्त्री लालु यादवलाई पनि अभियुक्त बनाइएको थियो। बिहार विभाजनपछि पाँच मुद्दालाई झारखण्ड अदालतमा ट्रान्सफर गरिएको थियो।