काठमाडौं– भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का नेता लालुप्रसाद यादवलाई अदालतले ५ वर्ष जेल सजाय र ६० लाख भारु जरिवाना सुनाएको छ। झारखण्डस्थित सीबीआईको विशेष अदालतले उनलाई कैद र जरिवानाको आदेश दिएको हो।
बीबीसीका अनुसार चारा (पशुपालनका लागि दाना) घोटाला काण्डमा उनी दोषी ठहर भएका हुन्। यादवले दोरन्दा कोषबाट अवैध रुपमा १ अर्ब ३९ करोड ३५ लाख निकालेको आरोप लागेको थियो।
तीन दशकअघि भएको ९ अर्ब ५० बराबरको उक्त घोटालामा सीबीआईले ६४ वटा मुद्दा दर्ता गरेको थियो। यसमध्ये यादवको नाममा ६ वटा मुद्दा थिए।
चारवटा मुद्दामा दोषी ठहर भएपछि यादवलाई यसअघि १४ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले ५ वर्ष थपिएको हो। जेल सजाय काटिरहेका लालुलाई पछिल्लो समय स्वास्थ्य अवस्थाका कारण जमानतमा छाडिएको छ।