म्यानमार- म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ। आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन्।
उनीहरुलाई हीरक एकता दिवसको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन्। म्यानमारका थप छ महिनाका लागि भन्दै जनवरी ३१ देखि संकटकालको समय अवधि थप गरिएको छ।
म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै संकटकाल लगाएको हो। सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिएपनि सेना पछाडि हटेको छैन।
त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ। अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन्। सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन्।