हङकङ- हङकङमा पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। हङकङ सरकारले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि शुक्रबार हङकङमा १३२५ जना नयाँ संक्रमित थपिएका थिए। शनिबार थपिएका नयाँ संक्रमितको संख्या कोरोना महामारी सुरु भएयताकै उच्च हो।
यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या २० हजार ११९ पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणको कारण २१६ जनाको मृत्यु भएको छ।
यसैबीच हङकङका अधिकारी र बेइजिङका अधिकारीहरुको बीचमा शनिबार भेटवार्ता गरेका छन्। भेटका क्रममा हङकङका अधिकारीहरुले चीनलाई सहयोग माग गरेका हुन्।
बेइजिङले कोरोना नियन्त्रणको लागि हङकङलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ। हङकङले माग गरेअनुसारको सहयोग उपलब्ध गराउन बेइजिङ सकारात्मक देखिएको बताइएको छ।
समाचारमा बनाइएअनुसार चीनले हङकङमा कोरोना खोप अभियान विस्तारको लागि पनि सहयोग गर्ने भएको छ।