मस्को- फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले रुस-युक्रेन तनाव निर्धारण गर्ने निर्णायक दिन आउन बाँकी रहेको बताएका छन्। मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि म्याक्रोनले यस्तो बताएका हुन्।
म्याक्रोनसँगको भेटमा राष्ट्रपति पुटिनले विवाद कम गर्ने विषयमा प्रगति भइरहेको बताएका थिए। रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोननबीचको यो पहिलो भेट हो।
म्याक्रोन र पुटिनबीच करिब ५ घण्टा कुराकानी भएको बताइएको छ। म्याक्रोनलाई पुटिनले डिनर पनि गराएका थिए। डिनरमा मृगको मासु, सखरखण्ड र किम्बु पनि समावेश थियो।
उता पुटिनले भने म्याक्रोनको प्रस्तावलाई सकारात्मक लिएको बताइएको छ। उक्त प्रस्तावले 'मिलनबिन्दुको आधार तयार गर्न सक्ने' बताएका थिए। यसका साथै उनले रुस-युक्रेन विवादका विषयमा कुरा गर्नु हतार हुने उनको भनाइ थियो।
राष्ट्रपति म्याक्रोनले मंगलबार युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यतालिका छ। उक्त भेटपछि पुटिन र म्याक्रोनले पुनः भेटवार्ता गर्ने बताइएको छ।
आपसी विवाद बढ्दै गएपछि रुसले युक्रेनी सीमामा ठूलो संख्यामा सैनिक परिचालन गरेको छ। यस्तो बेला पश्चिमा खेमाका मानिने फ्रान्सेली राष्ट्रपति र रुसी समकक्षीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अमेरिकासहित युरोपेली संघले युक्रेनमा रुसले आक्रमण गर्न लागेको दाबी गर्दै आएका छन्। यद्यपि रुसले भने त्यस्तो दाबीलाई निराधार रहेको बताउँदै आएको छ।
सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जबीच वासिंटनमा भेटवार्ता भएको थियो। भेटमा रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा रुसबाट आउने ग्यासलाइन बन्द गर्न अमेरिकाले आग्रह गरेको थियो।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत युक्रेनको पक्षमा वकालत गर्दै आएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा बेलायतले उक्त क्षेत्रमा वायुसेना पठाउने विषयमा छलफल गरिरहेको बताएका थिए।
युक्रेन युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुन चाहन्छ। तर रुस भने युक्रेनलाई ती दुवैमा आबद्ध हुन नदिने पक्षमा छ। रुसले कब्जा जमाएको युक्रेनको क्रिमिया लिने कुनै प्रयास गरे तनाव बढ्न सक्ने चेतावनी दिँदै आएको छ।