नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या एक लाखभन्दा कम भएको छ। महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या एकाएक बढेको थियो। संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका छन्।
सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या भने एक लाख ९९ हजार ५४ रहेको छ। एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बर भन्दा बढी रहेको छ। त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ। उनीहरुका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८९५ जनाको मृत्यु भएको छ। सिन्ह्वा