शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सरकारी तथ्यांक भन्छ – घट्यो ओमिक्रोन संक्रमण, विशेषज्ञको चेतावनी – जोखिम अझै उच्च छ

‘सामान्य रुघाखोकी लागेको भन्दै धेरै मानिस घरमै बसेका छन्। उनीहरू परीक्षणका लागि नजाँदा संक्रमण पुष्टि हुने संख्या घटेजस्तो देखिएको हो। तर जोखिम घटेको छैन।’
 |  शनिबार, माघ २२, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, माघ २२, २०७८

काठमाडौं– सरकारी तथ्यांकले नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण घट्दै गएको देखाउँछ। माघ ६ गते एकै दिन १२ हजार ३३८ जनामा संक्रमण भएकोमा शनिबार आइपुग्दा यो संख्या १७१४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अधिकारीहरू स्वास्थ्य सजगता अपनाएकै कारण संक्रमण न्यून हुन थालेको बताउँछन्। 

triton college

साताको पछिल्लो चार दिनको तथ्यांक हेर्दा संक्रमण क्रमशः घट्दै गएको देखिन्छ। शुक्रबार २५२६ जना, बिहीबार ३१७५ जना र बुधबार ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यस्तै पछिल्ला चार दिनमा कोरोना संक्रमणबाट निको हुने दर पनि बढेको छ। शनिबार ४७७१ जना संक्रमण मुक्त भएका छन्। शुक्रबार यो संख्या ८४२५ थियो भने बिहीबार ८७२३ जना कोरोना मुक्त भएका थिए। बुधबार ७५५५ जना संक्रमण मुक्त भएको सरकारी तथ्यांक छ। निको हुने दर बढ्दा सक्रिय संक्रमितको संख्या पनि क्रमशः ओरालो लागेको छ। 

बुधबार ६९ हजार २९१ सक्रिय संक्रमित रहेकामा बिहीबार ६३ हजार २९६, शुक्रबार ५६ हजार ४५७ र शनिबार ५२ हजार ७८० जना सक्रिय संक्रमित छन्। 

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको बताइन्। पहिले एक जनामा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर बिस्तारै घटिरहेको उनको दाबी छ। 

Metro Mart
vianet

स्वास्थ्य सतर्कता अपनाएकै कारण संक्रमण दर घटेकाले अझै स्वास्थ्य मापदण्ड पालना गर्न उनले सबै नागरिकलाई सचेत गराएकी छन्। उनले भनिन्, ‘नेपालमा संक्रमणको दर घटेको देखिन्छ। यो अवस्था सबै प्रदेशमा छ। स्वास्थ्य सतर्कता भने अनिवार्य रूपमा अपनाउनुपर्छ।’ मिश्रका अनुसार सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ। सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ र खोप लगाउनुपर्छ।

‘धेरै मानिसमा संक्रमण भइसक्यो। बाँकी पनि यो घातक रहेनछ भनेर परीक्षण गर्न जाँदैनन्। त्यसैले संक्रमण घटेको हो। वास्तविक रुपमा संक्रमण कम भएको छैन।’ 

विज्ञहरू भने संक्रमण जोखिम अझै उच्च रहेको बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन मानिसले ओमिक्रोन खासै घातक रहेनछ भनेर परीक्षण नगर्दा मात्र संक्रमण दर घटेको जस्तो देखिएको बताउँछन्। उनी भन्छन्, ‘धेरै मानिसमा संक्रमण भइसक्यो। बाँकी पनि यो घातक रहेनछ भनेर परीक्षण गर्न जाँदैनन्। त्यसैले संक्रमण घटेको हो। वास्तविक रुपमा संक्रमण कम भएको छैन।’ 

पीसीआर वा एन्टिजेन परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घटेको देखिएको छ। नेपालमा माघ ६ गते एकै दिन १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। सरकारी तथ्यांकअनुसार एकै दिन यति धेरै संख्यामा संक्रमण भएको यो पहिलो पटक हो। उक्त दिन २७ हजार ४९७ जनामा परीक्षण गरिएको थियो। 

त्यसपछि परीक्षण गर्न जानेको संख्या पनि घट्न थालेको छ। शनिबारसम्म आइपुग्दा ८ हजार ५१३ जनाले परीक्षण गराएका छन्। विशेषज्ञ भने रुघाखोकी र सामान्य ज्वरो आएका व्यक्तिले पनि पीसीआर परीक्षण गराउने हो भने संक्रमितको संख्या निकै माथि पुग्ने बताउँछन्। 

सरुवा रोग विशेषज्ञ पुन भन्छन्, ‘सामान्य रुघाखोकी लागेको भन्दै धेरै मानिस घरमै बसेका छन्। उनीहरू परीक्षणका लागि नजाँदा संक्रमण पुष्टि हुने संख्या घटेजस्तो देखिएको हो। तर जोखिम घटेको छैन।’ 

उनले खोप नलगाएका, वृद्धवृद्धा र दीर्घरोगी ओमिक्रोनबाट बढी प्रभावित भएको बताए। ‘त्यसैले अझै पनि ओमिक्रोनलाई कमजोर ठान्न हुँदैन। खोप नलगाएकाहरूले खोप लगाउनुपर्छ। दीर्घरोगी र वृद्धवृद्धाले स्वास्थ्य सावधानी अपनाउनुपर्छ,’ डा. पुन भन्छन्।

विशेषज्ञ  पुन नेपालमा ओमिक्रोन पुष्टि हुनुभन्दा पहिले नै समाजमा फैलिसकेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले ओमिक्रोन पुष्टि भएको बताइसकेपछि परीक्षण गर्न आउने संख्या बढेसँगै संक्रमित संख्या एकै पटक उकालो लागेको थियो। अहिले परीक्षण गराउने घटेपछि संक्रमितको संख्या घटेको हो।’

भारतमा ओमिक्रोन पुष्टि भएसँगै नेपालमा पनि भित्रभित्रै फैलिसकेको उनको भनाइ छ। ‘सरकारले पहिलो पटक नेपालमा ओमिक्रोन पुष्टि हुँदा परीक्षण गर्न आउने मानिस बढे,’ डा. पुनले भने, ‘यसले नेपालमा एकै पटक कोरोना बढेको देखायो। जसले गर्दा माघ ६ गते एकै पटक १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भयो।’ 

भारतमा पछिल्ला तीन दिनमा संक्रमणको दर ओरालो लागेको छ। शनिबार १ लाख २७ हजार भारतीयलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै शुक्रबार यो संख्या १ लाख ४९ हजार थियो भने बिहीबार १ लाख ७२ हजार संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

‘खोप लगाउन कोही पनि नछुटून भनेर सरकारले नागरिकतालगायतका कागजपत्र नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको छ।’ 

कोरोनाविरुद्धको खोप अभाव नभएको मन्त्रालयकी प्रवक्ता मिश्र बताउँछिन्। उनले सबै नागरिकलाई खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्। खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था गरिएको छ। उनले भनिन्, ‘खोप लगाउन कोही पनि नछुटून भनेर सरकारले नागरिकतालगायतका कागजपत्र नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको छ।’ 

नेपालमा शनिबारसम्म तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। तीमध्ये एक करोड ७७ लाख ४० हजार ८३५ जनाले एक मात्रा लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको संख्या एक करोड ५४ लाख ८२ हजार ८७ छ। यस्तै ६ लाख ३ हजार ४०८ जनाले अतिरिक्त मात्रा लगाएका छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ८८ हजार ४४० जनाले खोप लगाएका छन्।

विशेषज्ञहरूका अनुसार ओमिक्रोन र रुघाका लक्षण उस्तै छन्। पुन भन्छन्, ‘सिँगान बग्दा, टाउको दुख्दा, शरीर दुख्दा, मानिसले सिटामोल खाए। चिसो महिना हो भनेर रुघाखोकी नै ठाने। तर, त्यो ओमिक्रोन थियो।’ 

ओमिक्रोन पुष्टि भएको एक हप्तामै एक चौथाइमा संक्रमण पुष्टि भएको र एक हप्तापछि ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि हुनुले यसको संक्रामक अत्यन्त उच्च रहेको उनी बताउँछन्। ‘जुन रुपमा ओमिक्रोन संक्रामक देखियो त्यो रुपमा घातक नदेखिएकाले सहज भएको हो’, उनले भने। नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।

काठमाडौं उपत्यकामा २५ हजार ९९५ जना सक्रिय संक्रमित

सक्रिय संक्रमितमध्ये झन्डै आधा काठमाडौं उपत्यकामा छन्। मन्त्रालयको विवरण अनुसार शनिबार देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेकामा काठमाडौं उपत्यकामा मात्र २५ हजार ९९५ जना छन्। यीमध्ये काठमाडौंमा १३ हजार ८६, भक्तपुरमा तीन हजार ५८३ र ललितपुरमा ९ हजार ३२६ जना सक्रिय संक्रमित छन्।

मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। मनाङमा भने संक्रमण शून्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २५१ जनाको आईसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ४९ छ।


प्रकाशित: Feb 05, 2022| 18:15 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्