संविधानले हाम्रो देश नेपाल ‘समाजवादउन्मुख राष्ट्र हुने’ भनेको छ। संविधानले नै अभिमुख गरेको कुरा भएकाले हामीले समाजवादी चिन्तन गर्न आवश्यक छ। यसमाथि विमर्श गर्न आवश्यक छ। कसरी समाजवादको दिशामा जान सकिन्छ भनेर हामीले नै तय गर्ने हो।
हिजो जनयुद्धमा गएर एउटा निष्कर्षमा पुग्न नपाउँदै नेकपा माओवादीले सम्झौता गर्नुपर्यो। त्यतिबेला हामीले नेपालमा श्रमिकहरूको सत्ता नभएकाले जसरी पनि श्रमिककै सत्ता स्थापनार्थ अघि बढ्नुपर्छ भन्ने लक्ष्य राखेका थियौं। यद्यपि राष्ट्रिय–अन्तरराष्ट्रिय सबै आवश्यकताले जनयुद्ध सम्झौताको अवस्था पुग्यो।
तर सम्झौता भनेको हार र जितको अवस्था होइन। त्यो सम्झौतालाई हामीले समाजवादतिर पनि जान सकिने र साम्राज्यवादीहरूलाई पनि अलिकति ‘स्पेस’ अवस्थामा पुर्यायौं। त्यसक्रममा नयाँ जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा भए भने कति अझै बाँकी छन्। तर यही बिन्दुबाट हामी समाजवादको बाटोमा जान सक्छौं भन्ने लागेर शान्ति र संविधानको बाटो रोज्यौं।
अर्कोतिर नेपालको विषेशता के हो, त्यो बुझ्न आवश्यक छ। नेपाली समाजको बनोटबारे राम्ररी बुझ्न आवश्यक छ। उत्तरपट्टिको मंगोलियन समाजको केही अंश पनि नेपालमा प्रवेश गरेको छ। दक्षिणको द्रविड, आर्य समाजको बाहुल्य छ। भू–बनोटको कुरा गर्दा नेपाल ठूला चट्टानी पहाड, जंगल, गुफा अनि अन्तरकुन्तरमा खेतीयोग्य जमिन भएको ठाउँ भएकाले यहाँ मानिस आएर बसे भन्ने एकथरि मत छ। अर्कोथरिले परापूर्वकालदेखि नेपालमा मानिस थिए भनेका छन्।
जे भनिए पनि यो देशमा परापूर्वकालदेखि श्रमिकहरू थिए। र आज पनि ठूलो संख्यामा श्रमिकहरू छन्। दक्षिणतिरको भारत किसानहरूकै देश हो। चीनमा पनि ठूलो संख्यामा किसानहरू छन्। श्रमिकहरू दुवै छिमेकी देशमा भएकाले ती देशको विकासक्रमबाट हामी अछुतो रहन सक्दैनौं। श्रमिकहरूको यो देशमा कुनै मानिस शासक वा मालिकमात्र भएर पुग्दैन। सबै मालिक हुने अवस्था बनाउनुपर्छ।
साम्राज्यवादकेन्द्रित शक्तिहरू नेपाल समाजवादतिर अगाडि नबढोस् बरू पूँजीवादी देशतिरै जाओस् भन्ने संघर्षमा छन्। एमसीसी भनेको पनि यही हो। शक्ति राष्ट्र बामपन्थी शक्ति नेपालमा फस्टाउन नसकोस् भन्नेतिर लागेका छन्। अहिले नेपाली जतना र साम्राज्यवादी शक्तिबीच ‘टक अफ वार’ छ।
मैले यो किन भनिरहेको छु भने हाम्रो देश कसरी बनेको छ, त्यो बुझिएन भने यसको उत्थान गर्न सकिँदैन। अर्कोतर्फ श्रमसँगै उत्पादन र साधनको कुरा आउँछ। उत्पादन त केही मुठीभर मानिसमा केन्द्रित हुने कुरा होइन। सबै उत्पादन र स्रोतको सामाजिकीकण गर्नुको विकल्प छैन।
पटक–पटक समाजवाद भनिरहँदा जनतामा भ्रम पनि उत्पन्न हुन सक्छ। यसैले जनताको भाषामा भन्दा वा बोलीचालीको भाषामा भन्दा ‘मिलिजुली काम गर्ने, मिलिजुली खाने’ व्यवस्था नै समाज हो। अहिले त हाम्रो समाजमा सबैलाई मिलाएर काम गर्ने अनि एक्लै खाने चलन छ।
नोकरशाही पूँजीवादीले काम सबैलाई गराउँछ तर खाँदाखेरि एक्लै खान्छ। हामीले चाहिँ मिलिजिुली काम गर्ने, मिलिजुली खाने प्रणाली विकास गर्नतिर लागौं भनेको छ। यो विशेषता नेपालका धेरै गाउँमा छ। सामूहिक खेती प्रथा भएका बस्तीहरू छन्। यही विशेषतालाई नेपालभरि लैजाऔं, सबै उत्पादनमा लागू गरौं भन्नु नै समाजवाद हो।
पूँजी व्यक्तिकेन्द्रित एकाधिकारी हुने वा राज्यकेन्द्रित हुने अहिलको विश्वको प्रमुख मुद्दा हो। यो लडाइँ हिजोको जस्तो सशस्त्र युद्धबाट भइरहेको छैन। सशस्त्र लडाइँले मात्र मुलुक विकास हुन्छ भन्ने हुँदैन। दोस्रो विश्वयुद्धपछि शीतयुद्ध (कोल्ड–वार) पनि भयो। अहिले आर्थिक युद्ध (फाइनानसियल–वार) चलिरहेको छ। जसले व्यक्तिकेन्द्रित एकाधिरकारवादी पूँजीवादलाई नै प्रश्रय दिन्छ।
यता साम्राज्यवादकेन्द्रित शक्तिहरू नेपाल समाजवादतिर अगाडि नबढोस् बरू पूँजीवादी देशतिरै जाओस् भन्ने संघर्षमा छन्। एमसीसी भनेको पनि यही हो। शक्ति राष्ट्र बामपन्थी शक्ति नेपालमा फस्टाउन नसकोस् भन्नेतिर लागेका छन्। अहिले नेपाली जतना र साम्राज्यवादी शक्तिबीच ‘टक अफ वार’ छ। यसमा कसले जित्छ भन्ने लडाइँ मुख्य हो। समाजवादउन्मुख विचारले जित्ने वा साम्राज्यवादीले जित्ने त्यो अबको बाटोले तय गर्छ।
यसर्थ हामीले सोच्ने भनेको राज्यकेन्द्रित होस् वा समाजकेन्द्रित व्यवस्था जहाँ पूँजी श्रमिक जनताको अधिकारमा हुन्छ। त्यो प्रणालीको विकल्प छैन। नेपालको विकासक्रम, मौलिक विशेषता रछिमेकीहरूको अभ्यास सबै हेरेर हामीले सामाजवादको मुद्दालाई केन्द्रमा राखेका छौं। जुन आजको आवश्यकता हो। जुन कुरा सम्भव छ।
(माओवादी नेता महराले लेखक डीपी ढकालको पुस्तक ‘समाजवाद र नेपाल’माथि राखेको धारणाको सम्पादित अंश। पुस्तक जागरण बुक्सले प्रकाशन गरेको हो।