विराटनगर– तीनजना व्यावसायिक साझेदारको हत्या घटनाका मुख्य योजनाकार सिरहा घर भई काठमाडौं बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डलले प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिएर पेसेवर अपराधीको प्रयोग गरेको खुलेको छ। जग्गा कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले मण्डलले हत्याको योजना बनाएको देखिएको प्रहरीले बताएको छ।
घटनाका मुख्य योजनाकार मण्डल, हत्या गरिएका तेह्रथुम संक्रान्ति २ घर भई काठमाडौं बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भई भक्तपुर बस्दै आएका ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाडौं बस्दै आएका ३२ वर्षिय शम्भुकुमार चौधरी व्यावसायिक साझेदार हुन्।
ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ कमिसन एक्लै हत्याउन मुख्य योजनाकार मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। मण्डलले भाडाका अपराधी प्रयोग गरेर ३ जनाको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले प्रतिव्यक्ति ५ लाख रूपैयाँसम्म दिने सर्तमा भारत र नेपालका पेसेवर अपराधी प्रयोग गरी व्यावसायिक साझेदारको हत्या गर्न लगाएको प्रहरी निष्कर्ष छ।
मण्डलले हत्या गरिसकेपछि हत्यामा संलग्न भाडाका अपराधीलाई प्रतिव्यक्ति ३ लाख रूपैयाँ दिइसकेको र २ लाख दिन बाँकी देखिएको प्रहरी स्रोतको भनाइ छ। व्यावसायिक साझेदार हत्यामा मण्डलले मोरङको जहदा गाउँपालिका ४ सिशवनीका २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलम लगायतका अपराधी प्रयोग गरेका थिए। घटनामा मुख्य योजनाकार मण्डल सहित ३ जना सार्वजनिक गरिसकेको प्रहरीले थप एक जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ। भारतीय अपराधी भने फरार रहेकाले खोजी भइरहेको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले बताए।
श्रेष्ठको कागजातले अपराधीसम्म पुग्यो प्रहरी
हत्या भएको एक महिना भन्दा बढी समयसम्म घटना गुपचुपमै रह्यो। गत माघ १२ गते उखु काट्ने क्रममा कामदारले भर्खरै खनिएको आलो माटो भएको खाल्डो देखेपछि साँझ ५ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए। धनपालथान–७ को उखुबारीमा पहिले शम्भुकुमार चौधरीको शव गाडेको अवस्थामा फेला पर्यो। तर, शवको पहिचान हुन सकेन। उनको शव फेला परेको ३० मिटर पूर्व अर्को शव सोही प्रकृतिको फेला पर्यो। माघ १३ गते फेला परेको शवको पहिचान खुल्यो।
जग्गा कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले मण्डलले हत्याको योजना बनाएको देखिएको प्रहरीले बताएको छ।
शवसँगै राजेन्द्रकुमार श्रेष्ठको परिचय खुल्ने कागजात पनि भेटिएको थियो। उनको परिचयका कारण प्रहरीले माघ १२ गते फेला परेको शवको पनि पहिचान गर्न सक्यो। तर, तीन जना साझेदार मध्ये अर्का एक जना (मोहन लिम्वु) हराइरहेकाले उसको पनि हत्या भएको आशंकामा प्रहरीले उनको खोजी गर्यो। अनुसन्धानका क्रममा लिम्वुको ललितपुरमा हत्या गरी गाडेको अवस्थामा विहीबार शव फेला परेको थियो। मोरङमा दुई जनाको शव भेटिएपछि उनीहरुसँग कनेक्सन देखिएका लिम्बू सम्पर्कविहीन रहेको प्रहरीले पत्ता लगाएको थियो। लिम्वुको मंसिर २८ गते हत्या गरेको खुलेको छ। श्रेष्ठको पुस ५ र चौधरीलाई पुस ७ गते हत्या गरी गाडिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
को हुन् मुख्य योजनाकार मण्डल?
हत्या घटनाका मुख्य योजनाकार मण्डल काठमाडौंमा अनलाइन डेलिभरी र जग्गा कारोबारको काम गर्ने व्यक्ति हुन्। उनका नाममा केही कम्पनीहरु पनि दर्ता रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। हत्या घटनापछि पक्राउ परेका मण्डलले घटनाका बारेमा सुरुमा केही बताउन चाहेका थिएनन्। तर मोरङका दुई जनाले घटनाका बारेमा बताएपछि लिम्बूलाई हत्या गरी ललितपुरमा गाडेको पत्ता लागेको प्रहरीले जनाएको छ। एसपी जीसीका अनुसार लिम्बूलाई मारेर गाडेको भोलिपल्ट अर्थात् मंसिर २९ गते मण्डल श्रेष्ठ र चौधरीलाई लिएर विराटनगर आए।
दुवै जनालाई राख्नका लागि मण्डलले विराटनगरको मेट्रोसिटी होटल एन्ड लजमा मंसिर २९ गतेदेखि पुस ७ गतेसम्मका लागि कोठा बुक गरेको पत्ता लागेको छ। त्यही होटलबाट रातको समय परेर टेम्पोमा धनपालथान पुर्याएर दुई जनाको हत्या गरेको देखिएको छ। जग्गाकै काम गर्ने सोनारले भने मोरङमा बसेर नेपाल–भारत सामान तस्करी पनि गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। आलम भने खेतीकिसानी गरेर गाउँमै बसिरहेका थिए। राम्रो पैसा कमाइ हुने लोभ देखाएर मण्डलले व्यावसायिक साझेदारको हत्यामा सोनार र आलमलाई प्रयोग गरेको खुलेको छ।
लिम्बू, श्रेष्ठ र चौधरीको हत्या गरी गाडिएका तीनैवटा खाल्डो एकै प्रकृतिको भएको एसपी जिसीले बताए। उनका अनुसार तीन वटै खाल्डोहरु विजुलीको पोल गाड्ने तरिकाले खनिएको पाइएको छ। डोरी तथा गाम्छाले घाँटीमा कसेर दुवै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले चाँडो गलाउनका लागि खाल्डोभित्र नुन हालेर शव गाडेको पाइएको जानकारी दिए। उनले घटनास्थलबाट एउटा कोदालो र ६ प्याकेट नुन बरामद गरिएको बताए। घटना धेरै जेलिएकाले थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए।