नयाँ दिल्ली- कोरोनाभाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन्। कक्षा ८ देखि १२ सम्मको पढाई बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गरेका थिए।
उनका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्। कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो।
सरकारले त्यति बेलादेखि नै स्पा, शैलुन, व्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थललगायत बन्द गर्ने निर्णय गरेको थियो।
दुई बर्ष अगाडि सुरु भएको महामारीका कारण विद्यालयमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूले बताएका छन्।
एक विद्यार्थीले भने, 'महामारी आउनुपूर्व म कक्षा ८ मा पढ्दै गरेको थिएँ। अहिले कक्षा १० मा पढ्न थालेको छु। यो बीचमा पटक पटक लकडाउन लागु भयो। त्यस बेला मेरो राम्रा नराम्रा सवैको मिश्रित अनुभव भयो। मैले पढ्ने महत्वपूर्ण वातावरण लामो समय गुमाएको छु।'