काठमाडौं– चीनमा मिडिया फ्रिडम तीव्र गतिमा घटिरहेको प्रतिवेदन सार्वजनिक भएको छ।
विदेशी पत्रकारहरुको एक समूह फरेन करेस्पन्डेन्ट क्लबले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। रिपोर्टका अनुसार चीनमा पत्रकारहरुले शारीरिक हमला, ह्याकिङ, अनलाइन ट्रोलिङ तथा भिसा इन्कारको सामना गर्नु परिरहेको छ। चीन र हङकङमा स्थानीय पत्रकारहरुलाई पनि निशाना बनाइएको बताइएको छ। चीनले एफसीसीलाई अवैध संगठन करार गरिदिएको छ।
यो रिपोर्ट यस्तो समयमा सार्वजनिक भएको छ जतिबेला विश्वभरका मिडिया बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकमा केन्द्रित भएका छन्।
फरेन करेस्पन्डेन्ट क्लबको रिपोर्टअनुसार विदेशी पत्रकारलाई चीनमा यति गम्भीर रुपमा सताइएको छ कि कतिपय पत्रकारले चीन छाडेका छन्। चिनियाँ मूलका अस्टेलियन पत्रकार च्याङ लेइ र चिनियाँ पत्रकार हेज फैनलाई राज्यको सुरक्षा मामिलामा घुसेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि हिरासतमा राखिएको छ।