नेपालमा यतिबेला कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिरहेको छ। डेल्टा भेरियन्ट संक्रमणमा भने कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार परीक्षण गरिएकामध्ये ८८ प्रतिशतमा एस जिन नेगेटिभ देखिएको छ। त्यसको मतलब पछिल्लो लहरको कारक ओमिक्रोन हो। कोरोना संक्रमण समुदायमा उच्च छ। घरघरमै संक्रमित छन्। धेरैजसो त परीक्षणका लागि स्वास्थ्य संस्थामा पुगेका छैनन्। संक्रमित पनि परीक्षणको दायराभन्दा बाहिरै छन्।
कोरोना संक्रमण दर भने घट्न थालेको देखिन्छ। संक्रमितको संख्या कम देखिनुमा दुईवटा कारण छन् –संक्रमित घरमै बस्नु र कोरोना परीक्षणमा कमी आउनु। परीक्षण जति गर्यो संक्रमितको संख्या त्यति बढी देखिने हो। यस पटक सामान्य रुघाखोकी भन्दै धेरैले परीक्षण नै गरेनन्। त्यसैले संक्रमितको संख्या थोरै देखिएको हो।
उसो त अस्पतालमा बिरामीको चाप पनि घट्न थालेको छ। अघिल्लो साता शुक्रराज अस्पतालमा बिरामीको निकै चाप थियो। बेड नपाइने अवस्था थियो। अहिले भने हामीले केही सहज महसुस गरिरहेका छौँ। मैले अघिल्लो साता जति बिरामीलाई ‘फेस’ गरें अब त्यो अवस्था छैन। एक साताअगाडि १२ हजार हाराहारीमा कोरोना संक्रमित थपिए। अब त्यो संख्या माथि जाने सम्भावना कम छ।
भाइरस संक्रमणको लहर कहिले पनि उत्कर्षमा रहँदैन। त्यो चाँडै ‘स्लिप’ हुन्छ। तर ‘स्लिप’ हुन भनेको एकैपटकमा तल झर्नु होइन। धेरै मानिस संक्रमित भइसकेकाले अब संक्रमण कम हुँदै जान्छ।
संक्रमितहरु अस्पताल आउन छाडिसकेका छन्। अर्को कुरा भाइरस संक्रमणको लहर कहिले पनि उत्कर्षमा रहँदैन। त्यो चाँडै ‘स्लिप’ हुन्छ। तर ‘स्लिप’ हुन भनेको एकैपटकमा तल झर्नु होइन। धेरै मानिस संक्रमित भइसकेकाले अब संक्रमण कम हुँदै जान्छ। आगामी सातादेखि कोरोना संक्रमितको संख्यामा न्यून हुन्छ।
विभिन्न अनुसन्धानबाट आइरहेको तथ्यअनुसार ओमिक्रोनलाई छिटो फैलने तर छोटो समयसम्म रहने भाइरसका रुपमा लिइएको छ। त्यसैले यो भाइरस लम्बिने भन्दा पनि छोटो समयमा माथि जाने र छिटै तल झर्ने देखिएको छ।
यतिबेला आइसोलेसनमा सायदै मानिसहरु बसेका छन्। अहिले त्यस्तो निगरानी भएको जस्तो पनि लाग्दैन। पहिलापहिला त फोनमार्फत निगरानी हुन्थ्यो तर अचेल भएजस्तो लाग्दैन। व्यावहारिक रुपमा पनि कठिन देखिएको छ।
नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ। अझै ठूलो जनसंख्याले खोप लगाउन पाएका छैनन्। पहिलो र दोस्रो मात्रा लगाएको समय अन्तर पनि निकै लामो भइसकेको छ। जसले गर्दा जेष्ठ नागरिक समस्यामा छन्। बालबालिकाले खोप लगाउन पाएका छैनन्। ओमिक्रोन छिटो फैलने र कम घातक भनिए पनि जोखिमरहित भने छैन। खोप लगाएका मानिसबाट पनि भाइरस सर्ने सम्भावना उस्तै हुन्छ। त्यसै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।
हामी त चिकित्सक हौं। कोही संक्रमण नहोस्, भए पनि न्यून मात्रामा होस् भन्ने चाहना हो। तर यो फैलँदो क्रममा छ। केही मानिस आफूलाई कोरोना भएको भन्दै खुलेआम सार्वजनिक कार्यक्रममा पनि हिँडिरहेका छन्। यस्ता विषयमा आफैंै इमानदार हुनुपर्छ। होइन भने अब कसले कसको निगरानी गर्ने? नियमनको पाटोलाई निगरानी गर्र्ने मानिस नै बाहिर खुला रुपमा हिँडेपछि हामीले कसलाई भन्ने? संक्रमण भएर पनि बाहिर हिँडेकाहरुले आफूलाई बलियो सम्झेका होलान्। उनीहरुलाई केही समस्या नहोला तर उनीहरुकै कारणले अन्यलाई समस्या हुन्छ। त्यस्तो अवस्थामा के गर्ने? ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टले जस्तो धेरै समस्या ल्याउँदैन भन्ने तुलनात्मक कुरा मात्रै हुन्। तर जसलाई समस्या पर्छ उसको समस्या अरुले बुझ्दैन। त्यसैले सचेतता अपनाउनु जरुरी छ।
पछिल्लो लहरमा दुःखभित्रको सुखद कुराचाहिँ के हो भने पहिलो र दोस्रो लहरमा झैं मानिसहरु मानसिक रुपमा कमजोर छैनन्। हुन त अहिले नै मानसिक अवस्था भन्न हतार हुन्छ। अबको केही समयपछि ओमिक्रोनपश्चातको मानसिक समस्याबारे भन्न सकिन्छ। तर संक्रमणको समयमा अस्पताल आउँदा भने उनीहहरुमा मानसिक समस्या खासै देखिएको छैन। परीक्षणका लागि आउनेमध्ये बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी धेरै छन्। विगतमा भोगेका अनुभवले धेरैले पाठ सिकेका छन्।
संक्रमणको चरण दुई वटा छन् – समुदायमा छिर्ने चरण। हाम्रो समुदायमा संक्रमण छिरिसकेको छ। दोस्रो चरणमा बिरामीको संख्या बढ्न सक्ने भएकाले अस्पतालहरु तयारी अवस्थामा राख्नुपर्ने हुन्छ।
(डा. पुनसँग ज्योति अधिकारीले गरेको कुराकानीमा आधारित)