प्योङयाङ– उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ। योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ। यसबारे थप विवरण भने दिइएको छैन।
यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ।
स्थानीय समाचारअनुसार आइतबार बिहान ७ः५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतबार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो।
यसलाई सन् २०१७ को नोभेम्बरपछि परीक्षण गरिएको सबैभन्दा ठूलो क्षेप्यास्त्र मानिएको छ। उक्त क्षेप्यास्त्र आकाशमा दुई हजारकिलोमिटरको उचाइमा र ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताइएको छ। उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो।
यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौं क्षेप्यास्त्र हो। उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने बाचा गरेअनुसार क्षेप्यास्त्र परीक्षण गरिएको बताइएको छ।
उत्तर कोरियाको उक्त कदमको जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले निन्दा गरेका छन्। अमेरिकाले उक्त परीक्षणले संयुक्त राष्ट्रसंघको प्रतिबद्धता उल्लंघन गरेको टिप्पणी गरेको छ। साथै उसले उत्तर कोरियालाई उत्तेजनापूर्ण काम नगर्न तथा वार्तामा सहभागी हुन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षणमा रोक लगाएको छ।
प्रकाशित: Jan 30, 2022| 11:16 आइतबार, माघ १६, २०७८