मेक्सिको- मेक्सिकोमा थप एक पत्रकारमाथि आक्रमण भएको छ। एक महिनाको अवधिमा तीन पत्रकारको हत्या भएको अलजजिराले जनाएको छ।
मेक्सिकोको दक्षिणी प्रान्त ओक्साकाको ग्रामिण सडकमा सैन्य हतियार बोकेको एउटा गाडीबाट पत्रकार जोस इग्नासियो सान्टियागोमाथि आक्रमण भएको थियो।
अनलाइन न्युज साइटका निर्देशकसमेत रहेका सान्टयागोले आफूसँग दुई बडी गार्ड भएका कारण त्यहाँबाट भाग्न सफल भएको बताएका छन्। सरकारले नै उनको सुरक्षाका लागि दुई बडीगार्ड उपलब्ध गराएको थियो।
सन् २०१७ मा एक अपराधिक समूहले उनलाई अपहरण गरेपछि सरकारले नै उनको सुरक्षाका लागि दुई बडीगार्ड उपलब्ध गराएको थियो।
सन् २०२२ को सुरुवातसँगै तीन पत्रकारको हत्या भएको भन्दै पत्रकारहरुको समूहले मेक्सिकोका १२ वटा स्थानमा विरोध प्रदर्शन गरेको एक दिनपछि अर्का पत्रकार सान्टियागोमाथि आक्रमण भएको हो।
उनले आफ्नो बडीगार्डले आक्रमणकारीहरुलाई झुक्याएर सवारी चलाउन सफल भएका कारण आफू बाँचेको बताएका छन्। उनी घाइते भएका छन्।
यसअघि तिजुयाना सीमा क्षेत्रमा एक साताको अवधिमा दुई पत्रकारहरु मारिएका थिए। जनवरी १७ मा क्राइम फोटोग्राफर मारगारिटो मार्टिनेज् र जनवरी २३ मा पत्रकार लउर्डेस माल्डोनाडो लोपेजको हत्या भएको थियो। त्यसअघि जनवरी १० मा पत्रकार जोस लुइस गाम्बाओको हत्या गरिएको थियो।