नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ संक्रमित भएपछि कुल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
यसै अवधिमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना सुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ।
संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मंगलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएको विवरण सार्वजनिक गरेको थियो। कुल संक्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन्।
भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या २२ लाख २३ हजार १८ रहेको छ। जवकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो।