काठमाडौं– नयाँ बानेश्वरस्थित न्यू फेसन सुज सेन्टरका सञ्चालक दिलबहादुर रम्तेल अचेल निकै चिन्तित हुन्छन्। कोरोना महामारीको तेस्रो लहर पिकमा पुगिरहँदा सानो पुँजीबाट व्यवसाय सञ्चालन गरेका रम्तेल कतै फेरि लकडाउन हुने हो कि भनेर पिरोलिएका हुन्। बढ्दो संक्रमणसँगै ग्राहक आउने क्रम घटेको छ।
‘सानो पुँजीबाट पसल खोलियो। सटरको भाडा तिर्नैपर्छ, कोठा भाडा पनि छ। यसैबाट कमाएर परिवारको पेट पाल्ने हो। छोराछोरी पढाउनैपरो। हामी गरिखाने वर्ग त कोरोना महामारीले निकै समस्यामा परेका छौं,’ रम्तेलले सुनाए। पछिल्लो दुई हप्तायता दिनमा एक–दुई ग्राहक मात्रै पसलमा आउने गरेको उनले बताए।
ग्राहक कुर्दै मोबाइल चलाएर दिन बित्छ रम्तेलको। एक महिना अघिमात्रै उनको पसलमा दिनभर ग्राहक टुट्दैनथे। ‘पहिले हप्ता–हप्तामा होलसेल जानुपर्थ्यो सामान लिन। अहिले दुई हप्ता भइसक्यो, एक पटक पनि गएको छैन,’ उनले भने। पसलको भाडमात्रै महिनाको ३० हजार तिर्नुपर्छ। यो महिना भाडा कसरी तिर्ने भन्ने चिन्ता छ। घरपरिवार र अन्य खर्च त छँदैछ।
कोरोना संक्रमण बढेर ग्राहक नआएपछि बिहान–बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ताले सताउन थालेको छ। ‘घरपरिवार सबैलाई हेर्नु छ। कोही बिरामी भइहाले भने पनि सिटामोल किन्नेसम्म पैसा छैन हामीसँग। हामीजस्ता साना व्यवसायीका लागि सरकारले केही राहात प्याकेज ल्याइदिए राम्रो हुन्थ्यो,’ उनको अपेक्षा छ।
आफूजस्तै सडकमा व्यापार गरेर जीविकोपार्जन गर्नेहरुको दैनिकी कष्टकर बन्दै गएको उनले सुनाए। यसअघिको लकडाउन पनि पीडादायी बनेको उनको अनुभव छ। ‘पहिले पनि लकडाउन हुँदा हाम्रा लागि रोगभन्दा भोक पीडादायी बनेको थियो। रोगै लाग्नलाई पनि जीवन त हुनुपर्यो नि ! भोकले नै मर्ने स्थिति आउँदा रोगको चिन्ता र डर नलाग्दो रहेछ,’ सुरेन्द्रको अनुभूति छ।
पुरानो बानेश्वरमा तरकारी पसल गर्दै आएकी विराटनगरकी गोमा पोखरेलले पनि कोरोनाको त्रास बढ्दै गएकाले व्यापार घटेको बताइन्। दैनिक २० हजारसम्मको व्यापार हुने पसलमा हिजोआज पाँच हजारको पनि व्यापार कठिन भएको छ। कोरोना बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने हो कि भन्ने चिन्ता उनलाई पनि छ। ‘अहिले त थोरै भए पनि व्यापार गरेका छौं। यत्तिको व्यापार गर्न पाए पनि भोकै त मर्नु पर्दैन। तर, फेरि लकडाउन भयो भने त हामी भोकै मर्छौं’,’ गोमाको चिन्ता छ।काभ्रेकी २८ वर्षीया सावित्री घिमिरेलाई भने काठमाडौंको सडकमा लागू भएको जोर–बिजोर प्रणालीले सताएको छ। उनले ऋण गरेर १० लाख रुपैयाँमा ट्याम्पु किनेको केही महिनामात्रै भएको छ। ६ वर्षसम्म अरुको ट्याम्पु चलाएकी उनी आफैंले ट्याम्पु त किनिन्। तर, राम्रोसँग चलाउन पाएकी छैनन्। बैंकको किस्ता पनि तिर्न नसकिने हो कि भन्ने चिन्ताले सताएको छ। ‘ओमिक्रोनको त्राससँगै मेरो व्यवसाय धरापमा पर्यो। अहिले त जोरबिजोर मात्रै छ, भोलि पूरै बन्द भयो भने के पो गर्ने होला,’ उनले भनिन्, ‘जोर–बिजोरमा ट्याम्पु चलाएर कसरी बैंकको ऋण तिर्नु?’
जोरबिजोर लागू हुनुअघि दैनिक ४ हजारदेखि ४५ सयसम्म कमाउँदै आएकी थिइन्। त्यो पैसाले ट्याम्पुको किस्ता तिर्न र दैनिकी चलाउन पुगेको थियो। अब सातामा ३–४ दिन ट्याम्पु चलाएर कसरी गुजारा होला त? सावित्रिको चिन्ता छ। उनले ट्याम्पु किन्दाको पाँच लाख ऋण तिर्न अझै बाँकी छ।