इस्तानबुल- टर्कीको एक टेलिभिजनमा उखान भनेर राष्ट्रपति रिसिप तेयुप इर्डोगानप्रति अपमानजनक भाषा बोलेको आरोपमा एक पत्रकारलाई जेल हालिएको छ। टर्कीकी पत्रकार सेडेफ कबासलाई पुर्पक्षका लागि त्यहाँको अदालतले जेल पठाउने निर्णय सुनाएको हो।
कबासलाई आइतबार पक्राउ गरिएको थियो। सरकार विरोधी टीभी च्यानलमा उनले दिएको अभिव्यक्तिलाई आधार बनाएर जेल पठाइएको हो।
राष्ट्रपतिविरुद्ध अपमानजनक भाषा प्रयोग गर्नेलाई एक देखि ४ वर्षसम्म कैद सजाय हुनसक्ने बताइएको छ।
'क्राउन लगाएको व्यक्ति बुद्धिमान हुन्छ भन्ने उखान छ। तर यो सत्य नभएको हामीले देख्छौँ,' टेलि वान च्यानलसँग उनले भनेकी थिइन्, 'दरबार प्रवेश गर्नेबित्तिकै साँढे राजा हुँदैन। बरु दरबार चाहिँ गोरुगोठ बन्छ।' उनले यही कोटलाई ट्विटरमा पनि पोस्ट गरेकी थिइन्।
राष्ट्रपति इर्डोगानका प्रवक्ता फहरेतिन अल्तुनले कबासको प्रतिक्रिया गैरजिम्मेवार भएको टिप्पणी गरेका थिए। 'टेलिभिजन च्यानलमा कथित पत्रकारले हाम्रा राष्ट्रपतिलाई अपमान गरिरहेका छन्। राष्ट्रपतिप्रति घृणा फैलाउनुबाहेक यसको कुनै उद्देश्य छैन,' अल्तुनले ट्विटरमा लेखेका थिए।
टेलिवान च्यानका सम्पादक मेरदान यानारदागले कबासको गिरफ्तारीको विरोध गरेका छन्।
पछिल्लो ११ वर्षयता इर्डोगान लगातार सत्तामा छन्। राष्ट्रपतिप्रति अपमानजनक व्यवहार गरिएको आरोपमा हजारौँलाई सजाय दिइएको छ। रोयटर्सका अनुसार सन् २०२० मा मात्र उनको अपमान गरिएको भन्दै ३१ हजार केसमाथि प्रहरीले अनुसन्धान गरेको थियो।