वेलिङटन (न्युजिल्यान्ड)- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले आफ्नो वैवाहिक कार्यक्रम रद्द भएको बताएकी छन्। आफ्नो विवाहको कार्यक्रमलाई रद्द गर्दै प्रधानमन्त्री आर्डेनले कोभिडसम्बन्धी निषेधात्मक आदेश जारी गरेकी हुन्।
टीभी होस्ट क्लार्क गेफोर्डसँग हुन लागेको उनको विवाह रद्द गरिएको जानकारी पत्रकारहरूलाई दिएकी हुन्।
'हजारौँ न्युजिल्यान्डबासीमा महामारीको नराम्रो असर परेको छ,' प्रधानमन्त्री आर्डेनले थपिन्, 'त्यस (वैवाहिक कार्यक्रम)का लागि साहस गर्ने आम जनताभन्दा म फरक होइन।' यद्यपि विवाह तोकिएको मितिबारे खुलाइएको छैन।
कोरोना संक्रमण बढेसँगै देशभर विभिन्न गतिविधिमा रोक लगाइएको छ। कुनै पनि इभेन्टमा सहभागी हुनेको संख्या १ सय जनाभन्दा बढी हुन नहुने र तिनीहरू पनि कोरोना खोप लगाएकै हुनुपर्ने व्यवस्था सरकारले लागू गरेको छ। यो व्यवस्था विवाह तथा जिमखानाका हकमा पनि लागू हुनेछ।
न्युजिल्यान्डमा हालसम्म १५ हजार ५५० जनामा कोरोना संक्रमण देखिएको छ भने ५२ संक्रमितको मृत्यु भएको छ।
न्युजिल्यान्डमा १२ वर्षमाथिको उमेरसमूहका ९४ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। ५६ प्रतिशतले भने बुस्टर डोजसमेत लगाइसकेको बताइएको छ।