काठमाडौं– ईक्याब नेपालले नेपाली यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न आफ्नो सेवा सुरु गरेको छ। शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ट्याक्सी सेवा सञ्चालनका लागि क्यूआरर कोडसहितको एप सार्वजिनक गरेको हो ।
सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदबाट भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ । एपका प्रयोगकर्ताले अरूका लागि समेत सवारी बुकिङ गर्न सक्ने छन् । भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ गर्न सकिने ईक्याबले जनाएको छ ।
नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेका प्रयोगकताले समेत यो सेवा सहज रूपमा उपभोग गर्न सक्ने बताइएको छ । इन्टरनेटको पहुँच नभएको खण्डमा कल सेन्टरमा फोन गरेर समेत सेवा लिन सकिने कम्पनीले जनाएको छ।
यात्राका लागि लाग्ने शुल्क पूर्ण पारदर्शी रूपमा निर्धारण गरिएको कम्पनीको दाबी छ। यसका साथै प्रयोगकर्ताहरूका लागि लोयल्टी कार्यक्रम पनि रहेको छ । जसअनुसार प्रयोगकर्ताले लोकप्रिय स्थानमा जन्मदिन मनाउने वा पुरस्कार प्राप्त गर्न सक्नेछन् । ईक्याब नेपालका पार्टनर तथा हस्पिटालिटी सेन्टरहरूबाट आकर्षक छुट पनि प्राप्त गर्न सकिने बताइएको छ।