काठमाडौं- आन्तरिक हवाई दुर्घटनामा यात्रीको मृत्यु भए १ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन प्रस्ताव गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामा यस्तो व्यवस्था राख्न प्रस्ताव गरेको हो।
‘बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने क्रमका प्रक्रियामा वा यात्रा अवधिभर वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाले क्षतिपूर्तिबापत एक लाख अमेरिकी डलर व्यहोर्नुपर्नेछ,’ प्रस्तावित विधेयकको मस्यौदामा उल्लेख छ।
अहिले नेपालमा हवाई दुर्घटनामा यात्रीको मृत्यु भए २० हजार अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था कार्यान्वयनमा छ।
तर, क्षतिपूर्ति माग गर्ने यात्रुकै गम्भीर लापरवाहीका कारणबाट यात्रुलाई क्षति पुगेमा भने यस्तो रकम दाबी गर्न नपाइने व्यवस्था समेत विधेयकमा प्रस्तावित छ। यात्रुलाई पहिलेदेखि नै कुनै गम्भीर रोग प्रमाणित भए पनि क्षतिपूर्ति रकम दाबी गर्न पाइनेछैन।
प्रस्तावित विधेयकले कानुनी रूप ग्रहण गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउने छ।