बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हवाई यात्रुले एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णयबाट पछि हट्यो सरकार, खोप कार्ड देखाए पुग्ने

हवाई यात्रुले एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णयबाट पछि हट्यो सरकार, खोप कार्ड देखाए पुग्ने

आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण गर्नुपर्ने निर्णयबाट सरकार पछि हटेको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं– आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण गर्नुपर्ने निर्णयबाट सरकार पछि हटेको छ। यसअघि मन्त्रिपरिषद् बैठकले एन्टिजेन परीक्षण अनिवार्य गरेकोमा यो प्रावधान छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै वायुसेवा सञ्चालकहरुले आपत्ति जनाएका थिए।

गृह मन्त्रालयमा बुधबार बसेको सरोकारवालाहरुको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने सहमति भएको छ। सोहीअनुसार वायुसेवा सञ्चालक संघले आफ्ना सदस्यहरुलाई सर्कुलर गरेको छ।

सरकारले आन्तरिक हवाई उडानमा हरेक यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गर्ने आदेश जारी गरेपछि वायुसेवा कम्पनीहरु बिलखबन्दमा परेका थिए। कोरोनाको पहिलो र दोस्रो लहरबाट नराम्रोसँग थलिएर भर्खरै बौरिन खोजेको उड्डयन उद्योगलाई सरकारको पछिल्लो आदेशले फेरि थला पार्ने चिन्ता सम्बद्ध व्यवसायीको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले वायुसेवा कम्पनीले नै यात्रुको एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै उडान गराउन पाउने निर्णय गरेको थियो। चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेस सिल्ड अनिवार्य गर्ने, हवाईजहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने, चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय पनि सरकारले गरेको छ।

एन्टिजेन परीक्षण गर्नु नपर्ने भए पनि स्वास्थ्यका अन्य मापदण्ड पालनामा भने कडाइ गरिएको छ। यात्रुले डबल मास्क लगाउनुपर्ने, खोप कार्ड साथमा हुनुपर्ने वा मोबाइलमा फोटो देखाउनुपर्ने व्यवस्था गरिएको छ।

यात्रुको तापक्रम नाप्ने व्यवस्था वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ। यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रामक रोग सम्बन्धी लक्षण भए–नभएकोबारे सोधपुछ गरिने छ।




प्रकाशित: Jan 19, 2022| 17:04 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्