काठमाडौं- इजरालयसँग श्रम सम्झौतापछि पहिलोपटक ९९ नेपाली कामदार इजरायलका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा पुगेका छन्। बुधबार राति ११ बजे उनीहरू इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको हो।
६३ महिला र ३६ पुरुष गरी ९९ जना कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिए। 'पछिल्लो श्रम सम्झौतापछि इजरायल जाने कामदारका लागि यो पहिलो उडान हो। त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ मा पनि दुई उडानमार्फत् नेपाली कामदार इजरायल जानेछन्,' उनले भने।
दोस्रो चरणमा एक सय ६२ जना नेपाली श्रमिक इजरायलका लागि उड्नेछन्। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो। श्रम सम्झौतापछि विभागले प्रक्रिया सुरु गरेको २५औँ हप्तामा नेपाली कामदार इजरायल जान लागेका हुन्।
इजरायलका रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म ९ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ। विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम नाम छनोट गरेको थियो। त्यसमा इजरायलले ११ सय ७५ जना मात्र छनोट गरेको थियो।