काठमाडौं- इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा भोलि बुधबारदेखि नेपाली श्रमिक जाने बाटो खुल्ने भएको छ। पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जान लागेको वैदशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिएका छन्।
सरकारमार्फत पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदार जाने तय भएको उनले जानकारी दिए। कोरोना परिक्षण गर्दा पोजेटिभ आएकाहरु भने जान नपाउने सुनारले बताए।
सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपालले नाम उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले एक हजार १ सय ७५ जना श्रमिक छनोट गरेको थियो। तीमध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४४ जनाको भने भिसा आए पनि १२५ जना भोलि जाने भएका हुन्।
इजरायल जानेको सूचीमा ८२१ जना महिला र ३५४ जना पुरुष छन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको हो। इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पूरा गरेका एकदेखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले आग्रह गरिसकेको छ। उनीहरुलाई मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गर्न विभागले भनेको छ।
१२५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्ने छन्। जसले पहिला टिकट लियो, उनीहरुलाई प्राथमिकता दिने विभागले जनाएको छ। इजरायल जाने श्रमिक पठाउन हवाई टिकटका लागि टेन्डर आह्वान गरिएको थियो। टिकटकाे ५९ हजार ९ सय ९० रुपैयाँ लाग्नेछ।
इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सम्पूर्ण खर्च आफैं तिर्नु पर्ने छ। उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो। सहायक कामदारका रुपमा जाने नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन्। इजरायलको वर्तमान तलव व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (१ हजार ६ सय अमेरिकी डलर) मासिक कमाइ हुनेछ।
म्यानपावर कम्पनीहरुले बढी शुल्क लिएपछि सरकार आफैँले इजरायलमा श्रमिक पठाउने सम्झौता गरेको हो। सुरुमा एक हजार १ सय ७५ जना जाने तयारी भए पनि सरकारले थप श्रमिक पनि लैजान आग्रह गरिरहेको छ।