काठमाडौं– उज्वेकिस्तानको तास्कन्त सहरमा हुन गइरहेको एएसबीसी यु–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।
महिला खेलाडी सुस्मा तामाङ (४८ केजी तौल समूह) का साथ प्रशिक्षकहरुमा प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विदाइ गरेका हुन्।
खेलाडी सुस्मा तामाङ भरखरै काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्। यसै वर्ष वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी उनी विश्व युवा बक्सिङमा क्वाटरफाइनलसम्म पुगेकी थिइन्।
साथै सुस्मा विश्व युवा बक्सिङ वरीयतामा छैटौं स्थानमा छन्। यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागिता हुनेछ। नेपाली टोली मंगलबार तास्कन्त प्रस्थान गर्दै छ।