काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेटमा 'ब्रह्मास्त्र'को उपाधि पाएका छन् ब्याटस्म्यान विराट कोहलीले। तर टिममा अब उनको परिचय फेरिने भएको छ। उनी भारतीय टिमको कप्तानीमा रहने छैनन्।
कोहलीले जनवरी १५ मा सार्वजनिक रुपमा राष्ट्रिय टेस्ट क्रिकेट टिमको कप्तानी छोड्ने घोषणा गरेका थिए। सन् २०१७ देखि टेस्ट क्रिकेटको कप्तानी सम्हालिरहेका उनले केही महिनाअघि यूएईमा आयोजित टी-२० विश्वकपपछि सीमित ओभरको क्रिकेट कप्तानी छोडेका थिए।
नोभेम्बरमा विश्वकप सकिएपछि टी-२० को कप्तानी छोड्ने घोषणा गरेका थिए उनले। छनोट समितिले दुई कप्तान नराख्ने निर्णय गरेपछि कोहलीलाई डिसेम्बरमा एकदिवसीय क्रिकेटको कप्तानीबाट बञ्चित गराइएको थियो।
भारतीय क्रिकेटमा नयाँ रेकर्ड स्थापित गर्ने नम्बर (६८) मा टेस्ट क्रिकेटको कप्तानी सम्हाले। जसमध्ये उनले ४० खेल भारतीय टिमको पोल्टामा पारेका छन्। विश्वभरको टेस्ट कप्तानको इतिहासमा उनको यो नतिजा उत्कृष्ट चौथो स्थानमा पर्छ।
‘टिमलाई सही दिशा दिन दैनिकको लगातार र बढ्दो मेहनतका साथै अथक लगनशील बनेको सात वर्ष बितेछ,’ कोहलीले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले मेरो कर्तव्य निरपेक्ष इमानदारितापूर्वक निभाउन कसर बाँकी छोडेको छैन। र, एक दिन सबै कुरा रोकिनुपर्ने स्थिति आउँछ। टेस्ट कप्तानीका हिसाबले त्यो दिन मेरो लागि आज हो।’

कोहलीले आफ्नो कप्तानी त्यो दिन छोडेका हुन्, जसको अघिल्लो दिन मात्र दक्षिण अफ्रिकविरुद्धको टेस्टमा उनको टिमले पराजय व्यहोरेको थियो। यससँगै भारतले सिरिजमा २–१ को हार खेप्नु परेको थियो।
अहिलेसम्म कोहलीले ९९ टेस्ट खेलका छन्। टेस्टमा उनको औषत रन ५०.३९ छ। त्यसमा उनले २७ पटक त शतक नै प्रहार गरिसकेका छन्। त्यसमध्येको २० शतक उनले कप्तानी गरेको समयमा नै बनाए। अंग्रेजी पात्रोअनुसारको अघिल्लो वर्षमा कोहलीले भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका थिए। तर भारतले फाइनलमा न्युाजिल्यान्डसँग हार व्यहोर्यो।
‘जीवनमा जहिल्यै पनि तलमाथि भइरहन्छ। त्यो यात्रामा म कहिल्यै जोर लगाउन र आफूलाई विश्वास गर्न छोडिनँ,’ कोहलीले लेखेका छन्, ‘म जहिल्यै १२० प्रतिशत टिमलाई दिनेमा विश्वास गर्छु। यदि मैले गर्न सकिनँ भने, मलाई थाहा हुन्छ कि यो गर्नु उचित छैन।’ उनले भारतीय टिमका लागि आफू जहिल्यै पनि प्रतिबद्ध रहेको बताएका छन्।
कोहलीको आकस्मिक कप्तान यात्रा
सन् २०१४ मा अचानक कोहलीलाई कप्तानी हात परेको थियो। एडिलेड टेस्टमा भारत र अस्ट्रेलियाको प्रतिस्पर्धा सुरु हुनै लागेको थियो। त्यतिबेलाका कप्तान महेन्द्रसिंह धोनीको हातको औँलामा लागेको चोट लागेको थियो। धोनीको चोट निको भएन। त्यतिबेला कोहलीले कप्तानीको मौका पाए।
कप्तानका हिसाबमा उनले के गर्न सक्छन् त्यो उनले त्यही सिरिजमा जनाउ दिएका थिए। एडिलेडको त्यो पिचमा उनले पहिलो पारीमै ११५ रन बनाए। चौथो पारीमा ३६४ रनको लक्ष्य पछ्याउँदै उनले १४१ रन बनाए। यद्यपि भारतले ४८ रनको हार व्यहोर्नुपर्यो। चार खेलको सिरिजमा तीन खेल सकिएपछि तत्कालीन कप्तान महेन्द्रसिंह धोनीले सन्यास घोषणा गरेपछि अन्तिम खेलमा पनि कोहलीले कप्तानी गरेका थिए। पहिलो पारीमा १४७ र दोस्रो पारीमा ४६ रन बनाएको उक्त खेलमा 'ड्र' भएको थियो।
पछिल्लो समय १४ पटक भारतीय टिमले घरेलु मैदानमा कुनै टेस्ट सिरिज हारेकै छैन। कोहली सहभागी २४ खेलको नतिजा पोल्टामा पार्दा दुई खेलमा हार व्यहोर्नुपरेको छ।
कोहलीको कप्तानीमा भारतीय टिमले सन् २०१८–१९ मा अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो। खेलपछि त्यो जितलाई कोहलीले ‘सबैभन्दा गौरवान्वित क्षण’ भएको बताएका थिए।
उनले पछिल्लो वर्ष इंग्ल्यान्ड भ्रमणका दौरान पनि २–१ को जित निकालेका थिए।

तर सिरिजको अन्तिम खेल भने कोभिडको संक्रमणको कारण स्थगित भएको थियो। उक्त खेल सरेर अबको जुलाईका लागि निर्धारण भएको छ।
सन् २०१७ देखि गत अक्टोबरसम्म टिम सम्हालेका प्रशिक्षक रवि शास्त्रीले पनि कोहलीको सम्मानमा केही शब्द खर्चिएका छन्, ‘भारतका वास्तवमै आक्रामक र सफल। जुन सफलता पायौ त्यस्तो सफलता कप्तानका रुपमा केही मानिसले मात्र पाउँछन्। व्यक्तिगत रुपमा यो मेरो दुखी दिन हो। किनभने यो हामीले बनाएको टिम थियो,’ उनले थपे।
शून्य आईसीसी ट्रफी
खेलमा राम्रो नतिजा दिएका भएपनि उनलाई कप्तानीमा रहन इन्डियन क्रिकेट कन्ट्रोल बोर्डले आनकानी गर्नुको कारण आईसीसी ट्रफी भएको आकलन गर्न थालिएको छ। सबै तथ्यांक ठिकठाक रहे पनि आईसीसीको कुनै प्रतियोगितामा कोहलीले उपाधि दिलाउन सकेनन्।
यसैकारण हुनसक्छ उनी भारतलगायदका देशमा ‘ट्रोल’ को सिकार हुनुपरेको थियो। सन् २०१७ को च्याम्पियन ट्रफीको फाइनलमा पनि भारतले जित निकाल्न सकेन। २०१९ को विश्वकपको सेमिफाइनलमा पनि भारतले न्युजिल्यान्डसँग हार खेप्नुपर्यो। सन् २०२१ मा भारतले त्यही न्युजिल्यान्डसँग टेस्ट च्याम्पियनसिपको फाइनलमा हार व्यहोर्नुपर्यो।
उनको कप्तानीमा 'कालो धब्बा' बनिरहेको अर्को पनि विषय मानिन्छ- रोयल च्यालेन्जर्स बैंगलोरलाई आईपीएलको उपाधि दिलाउन नसक्नु। त्यसैले पछिल्लो केही वर्षमा मैदानमा उनको खेलभन्दा पनि उनको आक्रामकताको चर्चा धेरै हुन थालेको थियो। आक्रामकतालाई उनको 'दुश्मन'का रूपमा परिभाषित गर्न थालिएको थियो।