काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जित निकालेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्र क्लबले सहज जित निकालेको हो।
पहिको हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा मछिन्द्रले ४ गोल गर्यो। मछिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले दुई गोल र एक एसिस्ट गरे। त्यस्तै, रेजिन सुब्बा र अभिषेक रिजालले समान १–१ गोल गरे। खेलको ५५ औं मिनेटमा गोल गर्दै विमलले मछिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि उनले अर्को गोल थपे।
तर खेलको ६० औं मिनेटमा उनले गरेको प्रहार भने ब्रिगेडका गोलकिपर गुरप्रित सिहंले बचाएका थिए। त्यस्तै ७६ औं मिनेटमा गोलकिपरलाई बिट गरिसकेको अवस्थामा पनि विमलले पोस्टमा प्रहार गर्न सकेनन्।
यता विमलकै पासमा ८४ औं मिनेटमा रेजिन रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई ३–० गोलको अग्रता दिलाए। मछिन्द्र त्यतिमै रोकिएन। इन्ज्युरी समयमा अभिषेक रिजालले पनि गोल थपे। यो गोलसँगै मछिन्द्रले ४–० ले ब्रिगेडलाई हरायो।
यो जितसँगै मछिन्द्रले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। आजको खेलमा विमल घर्ती मगर म्यान अफ द म्याच बने।