काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ६१औं र ६२औं खेल आइतबार दशरथ रंगशालामा हुँदैछन्। दिउँसो १ बजेबाट सुरु हुने ६१ औं खेलमा लिगलिडर मछिन्द्र क्लबले ब्रिगेड बोइज क्लब (बिबिसी) को सामना गर्नेछ।
त्यसो त आजको खेल मछिन्द्रलाई शीर्षस्थानमा अंकदूरी बढाउने अवसर पनि हो। किनभने दोस्रो स्थानमा रहेको मनाङले यो चरणको खेल हार बेहोरिसकेको छ।
त्यसैले आठ दिनमा राम्रो तयारीपश्चात् मैदानमा प्रस्तुत हुने मछिन्द्र आजको खेलमा सहज जित निकाल्ने दाउमा छन्।
मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल पनि यस्तै भन्छन्। प्रशिक्षक कटुवाल भन्छन्, ‘अन्तिम खेलपछि आठ दिनको विश्राम पाएका छौं। बिबिसी हेर्दा रेलिगेसन टिम भए पनि ‘टप फाइट’ दिएको छ। बीबीसीले पुलिसविरुद्ध बराबरी खेलेको छ।’
नवौं चरणअघि भएको पत्रकार सम्मेलनमा प्रशिक्षक कटुवालले मनाङको खेल हेरेर खेल्ने पनि बताएका थिए। ‘हाम्रो भन्दा मनाङको अगाडि खेल छ । उसको रिजल्ट हेरेर खेल्छौं । सबै खेल जितेर लिग दाबी गर्छौ,’ उनले भने।
उनले उपचारका लागि कतार गएका रेजिन शुब्बा अभ्यासमा नेपाल आएर अभ्यासमा फर्किएको पनि बताएका छन्। यता बिबिसी चाहिँ रेलिगेसन क्षेत्र आसपासबाट बाहिर निस्किने दाउमा रहनेछ।
आइतबार पौने ५ बजेबाट सुरु हुने खेलमा च्यासल यूथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। तालिकाको माथितिर रहने लक्ष्यका साथ लिगमा होमिएका यी दुवै टिम अहिले रेलिगेसनको दबाबमा पुगेका छन्।
दुवै टिमको खेलाडी र प्रशिक्षक कुशल देखिए पनि राम्रो नतिजा निकाल्न सकेका छैनन्। त्यसैले आजको खेलमा जित निकाले आफ्नो टिम रेलिगेसनबाट बच्ने च्यासलका सहायक प्रशिक्षक आसिक थापा मगरले बताउँछन्।
‘हाम्रो तयारी जित्ने हो। पुलिसविरुद्ध महत्त्वपूर्ण खेल छ। आज हारे रेलिगेसनमा जाने सम्भावना रहन्छ र जिते बच्छौं। रेलिगेसनबाट बच्नेमा आशा अझै छ।’
तर च्यासलका कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोभिड १९ को पोजेटिभ पाइएका छन्। कोभिड प्रोटोकलअनुसार उनीहरूले खेल्ने मिल्दैन। त्यसैले कमलको ठाउँमा सागर थापाले खेल्ने प्रशिक्षक आसिक बताउँछन्।
यता पुलिसलाई आजको जित झनै आवश्यक छ। किनभने एक पटक लगातार तीन सिजन लिग जितेको पुलिसको यो निकै खराब नतिजा हो। लामो समय एकै टिममा खेलेका खेलाडी भएर पनि उसले जित निकाल्न सकेको छैन।
अंकतालिकामा सात अंक बनाएको पुलिस ११औं स्थानमा छ भने पाँच अंक भएको च्यासल रेलिगेसन जोनमा छ।
त्यस्तै, १२ औं स्थानको बिबिसीको ६ अंक हुँदा शीर्षस्थानको मछिन्द्रका् २० अंक रहेको छ। मछिन्द्रभन्दा एक अंकले पछि रहेको मनाङ दोस्रो स्थानमा छ।