यमन- यमनका हुथी विद्रोहीले हतियार बोकेको भन्दै यस महिनाको शुरुमा आफूले बरामद गरेको संयुक्त अरब इमिरेट्सको ध्वजाबहाक जहाजलाई छोड्न अस्वीकार गरेका छन्। जहाज छोड्न संयुक्त राष्ट्रसंघले गरेको अनुरोधलाई शनिबार उनीहरूले अस्वीकार गरेका हुन्।
'रुवाबी जहाजले केटाकेटीका लागि खेलौना बोकेको भन्ने दावी गलत हो। बरू यसले कट्टरपन्थीहरूका लागि हतियार कोकेके थियो,' हुथी नेता हुसेन अल अज्जीले भने।
इरान समर्थित हुथी समूहले ११ सदस्यीय चालक दलका साथ जनवरी ३ मा होडैडाको ‘रेड सी पोर्ट’ बाट जहाज जफत गरेका र त्यसपछि एउटा भिडियो जारी गरेका थिए। उनीहरूले जहाजमा सैन्य उपकरणहरू भेटिएको दावी गर्दै आएका छन्।
संयुक्त अरब इमिरेट्सले रुवाबेलाई ‘नागरिक कार्गो जहाज’ भएको बताएको छ। उक्त जहाजलाई साउदी कम्पनीले भाडामा लिएको र ‘फिल्ड अस्पताल’ मा प्रयोग गरिने उपकरणहरू बोकेर अन्तरराष्ट्रिय पानीमा रहेको कम्पनीले बताएको छ।
यमनको राजधानी सानालाई हुथीहरूले सन् २०१४ मा कब्जा गरेपछि मार्च २०१५ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सहयोग गर्न साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले रूवाबे र यसका चालक दललाई ‘तत्काल रिहाई’ गर्न माग गरेको छ। परिषद्ले ‘एडेन र रेड सीको खाडी अन्तरराष्ट्रिय ढुवानीको लागि एउटा रणनीतिक मार्ग भएको भन्दै ‘‘एडेन र रेड सीको खाडीमा ओहोरदोहोर गर्न पाउने स्वतन्त्रताको महत्वलाई’ जोड दिएको छ।
परिषद्ले वार्ता तालिकामा फर्कन संयुक्त राष्ट्रसंघका विशेष दूतसँग समन्वय गरेर ‘यमनको स्थितिलाई सामान्य बनाउन सम्बन्धित सबै पक्षहरूलाई’ आह्वान पनि गरेको छ।
तर हुथी निकट अल–मसिरा टेलिभिजनले नेता अज्जीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसँगले यमनमा ‘अन्तरराष्ट्रिय कानुन उल्लंघन गर्ने हत्याराहरूको’ पक्षमा काम रहेको आरोप लगाएको बताएको छ।
हुथी नेताले रूवाबे ‘हाम्रा जनताविरुद्ध र यमनसँग युद्धमा भाग लिएको मुलुकको भएको र यमनी क्षेत्रको समूद्रमा अवैध रूपमा प्रवेश गरेको दावी गरेका छन्।
परिषद्ले संयुक्त अरब इमिरेट्स साउदी अरब नेतृत्वमा भएको गठबन्धनको एक सदस्य भएपनि रुवाबेलाई जफत गर्नुलाई ‘चोरी (पाइरेसी)’का रूपमा हेरिएको बताएको छ।