विराटनगर- प्रदेश १ मा दैनिक कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ। पछिल्लो एक साताको अवधिमा १ हजार २८० जना संक्रमित थपिएका छन्। संक्रमणदर ३२ प्रतिशत रहेको छ।
एकसातामा ३२२७ पीसीआर परीक्षण र १६८५ एन्टिजेन परीक्षण भएको छ। सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६० र २२० जनामा संक्रमण पुष्टि भएको छ। एक सातामा ९३ जना संक्रमणमुक्त भएका छन्। दुई जनाको मृत्यु भएको छ।
संक्रमण दैनिक बढे पनि भिडभाडका कार्यक्रममा कुनै कमी आउन सकेको छैन। राजनीतिक दलका कार्यक्रम रोकिएका छैनन्। राजनीतिक दल र तिनका भातृ संगठनका कार्यक्रममा नरोकिँदा संक्रमण अझै बढ्नै जनस्वास्थ्यका जानकारहरू बताउँछन्। एमाले, नेपाली कांग्रेस, राप्रपा लगायतका दल र तिनका भातृसंगठनका कार्यक्रम निरन्तर भइरहेका छन्। दलका कार्यक्रम विराटनगरमै बढी केन्द्रित छन्। विराटनगरमा दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै गएको छ।
कार्यक्रममा सामान्य स्वास्थ्य मापदण्ड पालना नगर्ने र कोरोनासँग मिल्दो लक्षण देखिएका व्यक्तिहरू पनि मास्क पनि नलगाई कार्यक्रममा सहभागी भएको पाइने गरेको छ। जिल्ला प्रशासन कार्यालयले भिडभाडका कार्यक्रम रोक्न भनिसकेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। अनिवार्य मास्क लगाउन पनि प्रशासन कार्यालयले आग्रह गरेको उनले बताए। मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गरिने दाहालले बताए।
एमाले अधिवेशनमा सहभागी अधिकांशमा कोरोना
नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा सहभागी भएका अधिकांशमा कोरोना संक्रमण भएको छ।
गत शुक्रबारदेखि सुरु भएर बिहीबारसम्म चलेको जिल्ला अधिवेशनमा सहभागी भएका अधिकांश नेताहरूमा संक्रमण भएको एक नेताले बताए। जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, नेताहरू खड्गबहादुर बस्नेत, सन्तोष बान्तवा, सरला राईलगायतका नेताहरू होमआइसोलेशनमा छन्।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले लक्ष्य अनुसार खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम प्रभावकारी हुन नसकेको बताए।
संक्रमण देखिएकाहरू होम आइसोलेसनमा रहेको र अन्य नेता, कार्यकर्ताहरूमा पनि संक्रमण अझै बढ्ने देखिएको बताइएको छ। अधिवेशनमा सहभागी २५० भन्दा बढीलाई कोरोना भएको श्रोतको दाबी छ।
भिडभाडका कार्यक्रम नगरिदिन सरकारको आग्रह
प्रदेश सरकारले भिडभाडका कार्यक्रमहरू नगरिदिन आग्रह गरेको छ। सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भिडभाड हुने खालको कार्यक्रम नगरी दिन आग्रह गरे।
उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिड विरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट बताए। भिडभाडका कार्यक्रममा नियन्त्रण नहुँदा संक्रमण बढेको उनले बताए।
सरकारको तयारी प्रति कर्मचारी नै असन्तुष्ट
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको तयारी प्रति कर्मचारीले नै असन्तुष्टि व्यक्त जनाएका छन्।
पछिल्लो साता जुन रफ्तारमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। त्यसको आधारमा सकारको तयार प्रभावकारी नभएको उनीहरूको गुनासो छ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले लक्ष्य अनुसार खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम प्रभावकारी हुन नसकेको बताए। उनले भने, ‘अहिलेसम्म पनि प्रदेश १ मा ५१ प्रतिशत नागरिकले मात्र दुवै डोज खोप पाएका छन्।’ स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव रहेको प्रसाईंले बताए।'
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले सीमा क्षेत्रबाट आवतजावतलाई अझै पनि व्यवस्थित गर्न नसकिएको बताए। उनका अनुसार काँकडभिट्टा नाका व्यवस्थित भए पनि रानी नाका व्यवस्थित हुन नसकेको, होल्डिङ सेन्टरहरूमा खाने पानी, बिजुली, सडक, यातायातको सुविधाको अभाव छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी अरुणकुमार बिसीले जोगवनी नाका व्यवस्थित हुन नसकेकाले संक्रमितहरू भारतबाट सिधै नेपाल प्रवेश गर्न सक्ने अवस्था रहेको बताए।