काडमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।
बुधबार राति र बिहीबार बिहान वर्षाका कारण मैदानको पिच हिलो भएपछि आर्मी र प्रदेश १ को खेल हुन सकेन। यससँगै आर्मी प्रदेश १ सँग अंक बाँड्न बाध्य भएको हो।
यससँगै समूह ए मा आर्मीको तीन अंक छ भने प्रदेश १ ले एक अंकका साथ खाता खोलेको छ।
त्यस्तै, कीर्तिपुर मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ विरुद्ध ४२ रनको जित निकालेको छ। टस जितरेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो। जवाफमा पूरा ओभर खेलेको प्रदेश २ एक विकेट बचाएर ११९ रनमा समेटियो।
खेलमा लुम्बिनीका देव खनालले ५४ रन जोडे भने बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन बनाए। प्रदेश दुईका रुपेश सिंह र विवेश यादवले समान २–२ विकेट गिराउँदा हरिशंकर शाह, महबुब आलम र विशाल सुस्लिङले समान १–१ विकेट लिए।
ब्याटिङमा प्रदेश २ का विवेश यादवले सबैभन्दा धेरै ३६ रन बनाए। प्रदेश २ विरुद्ध लुम्बिनीका अनिल खरेलले पाँच विकेट गिराए। खरेल खेलको म्यान अफ दि म्याचसमेत बने। खेलमा कृष्ण कार्की, सिद्धान्त साही र बसिर अहमदले समान १–१ विकेट गिराए।
आजको खेलसँगै समूह बीमा लुम्बिनीले दुई अंक जोडेको छ भने प्रदेश २ को पनि दुई अंक छ। लुम्बिनी र प्रदेश २ तेस्रो र चौथो स्थानमा छन्।