शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार पाँच सय अङ्क रहेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्।

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार पाँच सय अङ्क रहेको छ। 

महासंघले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह रहेका छन्। उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन्।

फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा रहेका छन्। 

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताएका छन्। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए। अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए। 

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ। राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ। कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन्। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्। 

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठुलो सफलता हो। व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ। ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए। दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: Jan 13, 2022| 11:30 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।