काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटमा बिहीबार पनि चार खेल हुँदैछन्। बिहीबारका दुई खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् भने बाँकी दुई खेल मुलपानी मैदानमा हुँदैछन्।
त्रिवि मैदानमा आज बिहान कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ। पहिलो खेलमा आर्मीसँग हार बेहोरेको कर्णालीले दोस्रो खेलमा प्रदेश १ लाई हराएर २ अंक जोडेको छ।
यता पहिलो खेलमा पुलिससँग हारेको सुदूरपश्चिमले आज दोस्रो खेल खेल्दैछ। त्यस्तै, मुलपानी मैदानमा हुने पहिलो खेलमा आर्मी क्लबले प्रदेश १ सँग खेल्दैछ। पहिलो खेलमा कर्णालीलाई हराएको आर्मीले दोस्रो खेलमा पुलिससँग हार बेहोरेको छ।
त्यसैले सेमिफाइनल पुग्न उसले सबै खेलमा जित निकाल्ने प्रयास गर्दैछ। अहिले समूह ए मा आर्मी दोस्रो स्थानमा छ भने पुलिस शीर्षस्थानमा छ। कर्णाली तेस्रो स्थानमा रहँदा सुदूरपश्चिम र प्रदेश १ अंकविहिन छन्।
त्यस्तै त्रिवि मैदानमा आजको दोस्रो खेलमा प्रदेश नम्बर २ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ। यता मुलपानीको मैदानमा भने एपीएफ क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ।
आज एपीएफले जित निकालेको अवस्थामा उसले एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। समूह बीको अंकतालिकामा चार अंक बनाएको एपीएफ शीर्षस्थानमा छ भने समान २–२ अंक बनाएका बागमती र प्रदेश २ दोस्रो र तेस्रो स्थानमा छन्।
गण्डकी र लुम्बिनी अहिलेसम्म अंकविहिन छन्। दुई समूहमा विभाजित भएका ५–५ टिमले समूहमा राउन्ड रोविन शैलीमा लिग खेल्नेछन्। समूहका शीर्षमा रहेका दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।