विराटनगर– विराटनगरमा कोरोना संक्रमण ह््वात्तै बढेको छ। एक साता अघिसम्म विराटनगरमा कोरोना संक्रमितको संक्रमण दर २५ प्रतिशत थियो। पुस १८ गते प्रदेश १ भर ८ जनामा संक्रमण पुष्टि हुँदा विराटनगरका २ जना थिए।
एक साताको अवधिमा विराटनगरमा संक्रमण दर ५१ प्रतिशत पुगेको छ। सोमबार प्रदेशभर ११३ जनामा संक्रमण पुष्टि हुँदा विराटनगरका ५८ जना छन्। विराटनगरमा एक साताको अवधिमा तीव्र रुपमा संक्रमण फैलिएको छ। प्रदेश १ मा नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भने हाल सम्म पुष्टि भएका छैनन्। शंकास्पद नमूनाहरु परीक्षणमा पठाउने गरेपनि ओमिक्रोन देखा नपरेको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशन जयवेन्द्र यादवले बताए।
छैन स्वास्थ्य सावधानी
संक्रमितको संख्या दैनिक बढेपनि स्वास्थ्य सावधानी अपनाईएको पाईएको छैन। विराटनगरमा दैनिक सयौंको संख्यामा हुने सार्वजनिक स्थलमा कार्यक्रम रोकिएका छैनन्।
वजारमा उत्तिकै भिड हुने गरेको छ। सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेको पाइँदैन। मास्क लगाउनै छाडिसकेको अवस्था छ। जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन। खोप लगाएको भरमा लापरवाही भइरहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताए। खोप लगाकाहरु पनि संक्रमित भइरहेकाले स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे।
सीमा नाकामा कडाइ नगर्दा संक्रमण समुदाय स्तरमा
विराटनगर रानी नाकाबाट दैनिक नेपाल–भारत गर्नेहरुको अहिले पनि उत्तिकै घुइँचो छ। नाका क्षेत्रमा कडाइ नगर्दा संक्रमण समुदाय स्तरमा पुगिरहेको छ। बाक्लो आउजाउका कारण पनि विराटनगरमा संक्रमण ह्वात्तै बढेको जनस्वास्थ्यकर्मी कैलाश श्रेष्ठ बताउँछन्। दोश्रो लहरका समयमा पनि नाकामा कडाइ नगर्दा संक्रमण छिटो समुदायस्तरमा पुगेको उनले बताए। स्वास्थ्य मापदण्ड पालना नगर्ने परिपाटीका कारण पनि संक्रमण दर बढिरहेको उनको भनाइ छ।
श्रेष्ठले भने,‘कोरोनाका शंकास्पद व्यक्तिहरु खुलेआम प्रवेश गरिरहेका छन्।’ विराटनगर महानगरपालिकाकाले रानीमा हेल्थ डेस्क राखे पनि परीक्षण नगरी प्रवेश गर्नेहरु पनि उत्तिकै हुने गरेको महानगरका हेल्थ असिस्टेन्ट सुरेश यादवले बताए। उनका अनुसार सोमबार भारतबाट नेपाल प्रवेश गरेका ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बाक्लो आउजाउ हुने स्थानमा पनि हेल्थ डेस्क राख्ने तयारी भइरहेको बताए। उनले रानी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयलाई खोपकार्ड अनिबार्य गरिएको बताए।
होल्डिङ सेन्टर निर्माणमा ढिलाइ
कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा देखिए पनि होल्डिङ सेन्टर निर्माण कार्य सकिएको छैन। विराटनगर रानी क्षेत्रमा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण नसकिँदै जोखिम बढेको छ।
सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरि विराटनगरमा शुरु गरिएको होल्डिङ सेन्टर निर्माण कार्य छिटो सक्ने सरकारले निर्देशन दिएपनि बजेट निकासा नहुँदा ढिलाइ भएको निर्माण पक्षको दावी छ। २४ करोड ७५ लाखमा निर्माणको सम्झौता गरेको हनुमान कन्स्ट्रक्सनका बच्चुराम दाहालले सरकारले हालसम्म ३५ प्रतिशत मात्रै बजेट निकासा गरेको बताए। उनले सम्झौता बमोजिम बजेट निकासा गरे एक महिनाभित्रमा निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गर्ने उनले बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले यसअघि निर्माण भएका अस्थायी होल्डिङ सेन्टर बन्द भएकाले स्थायी संरचनाका रुपमा निर्माण भइरहेको होल्डिङ सेन्टर चाडो निर्माण गर्न पहल भइरहेको बताए। उनले होल्डिङ सेन्टरकै अभावमा जोगवनी नाकाबाट प्रवेश गरेका र एन्टिजेन परीक्षणमा कोभिड देखिएकालाई राख्न समस्या भएको बताए। झापाको मेचीनगरमा पनि १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ।
विद्यालय पुसभर खुला हुने
विराटनगरका सरकारी तथा निजी विद्यालय पुस महिनाभर खुल्ने भएका छन्। शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाले माघ लागेपछि मात्रै विद्यालय बन्दको तयारी गरिएको महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए। उनले भने, ‘केन्द्रबाट पुस २७ गतेदेखि नै विद्यालय बन्द गर्ने भनिए पनि हामीले भने माघ लागेपछि मात्र बन्द गर्ने तयारी गराका छौं।’