काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सोमबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड बोइज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी गरेका छन्।
यो बराबरीसँगै जारी लिगको आठौं चरण सकिएको छ। अहिलेसम्म ५६ खेल पूरा भएका छन्। त्यसमा ३८ खेलमा जितहार भएका छन् भने बाँकी खेल बराबरीमा रोकिएका छन्।
आजको खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै बीबीसीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको चौथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी बनाए।
आजको खेलसँगै दुवै टिमले समान १–१ अंक जोडेका छन्। अहिले पुलिसले ७ अंक बनाएको छ भने बीबीसीले ६ अंक बनाएको छ। बीबीसी १२ औं स्थानमा छ भने पुलिस ११ औं स्थानमा छ।