काठमाडौं- महिला दिदीबहिनीहरुको नियमित ढाड दुख्ने समस्या छ ? आफ्नो दैनिकी, कामको बोझले ढाड दुख्यो भन्ने लागेको छ भने, तपाईं सचेत बन्नुहोस र चाँडै चिकित्सककहाँ गएर स्वास्थ्य जाँच गराउनुहोस् । किनभने ढाड दुखाईंको समस्या रहेका ६० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या देखिएको छ ।
अल्का अस्पताल र एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाले लमजुङमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ढाड दुखाईको उपचार गराउन आएका महिलामध्ये ६० प्रतिशतमा पाठेघरको समस्या पाइएको स्त्री रोग विशेषज्ञ डा. नुतन शर्माले बताइन् ।
यस्ता छन् पाठेघर क्यान्सरका लक्ष्यण
स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले महिलामा देखिने सामान्य समस्या पनि पाठेघरको क्यान्सरका लक्षण हुनसक्ने बताइन् । ‘निरन्तर ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, योनीबाट फोहर जानु पाठेघर क्यान्सरका लक्षण हुन्,’ डाक्टर शर्माले भनिन् ‘त्यस्तै योनीबाट धेरै पानी बग्नु, बगेको पानी धेरै गन्हाउनु, योनी चिलाउनु पाठेघरको क्यान्सरको लक्षणहरु हुन् ।’
यस्ता समस्यालाई सामान्य भनेर नबस्न महिला दिदीबहिनीलाई आग्रह गर्दै डाक्टर शर्माले यस्तो अवस्थामा पनेकिलर खाएर दुखाई कम गर्नुको सट्टा स्वास्थ्य संस्थामा देखाउन आग्रह गरिने । यी समस्या पाठेघरको समस्या भएकाले हाड तथा नसाको उपचार गर्न नगई पाठेघरको जाँच गराउन आग्रह गरिन् ।
पाठेघरको घाउ संक्रमणबाटै पाठेघरको क्यान्सर हुने भन्दै डाक्टर शर्माले समयमै यसको उपचार गर्न सके पाठेघरको क्यान्सरबाट बचाउन सकिने बताइन् ।
बच्न के गर्ने ?
पाठेघरमा रोग लाग्न नदिन खानपिनमा ध्यानदिनुपर्ने डाक्टर शर्माले बताइन् । नेपालीले खाने खानामा बढी कार्बोहाइटेड हुने र प्रोटिन चाहिने उनले बताइन् । अण्डा, माछा, मासु, गेडागुडी, दही, पनिरमा बढी प्रोटिन हुने उनले बताइन् । खानामा पनि सागसब्जीलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताइन् । भात खाने बानीलाई कम गर्न पनि उनले सुझाव दिइन् ।
डाक्टर शर्माले गोप्य अंगहरु सफाइमा पनि ध्यानदिए संक्रमण नहुने बताइन् । योनी चिलाए सफा पानीले सफा गर्न सुझाव दिँदै उनले यस्तो अवस्थामा डिटोल पानीको प्रयोग गर्नन आग्रह गरिन् ।
कटनको अन्डरवेयर राम्रो भएको भन्दै उनले सिन्थेटिकको अन्डरवेयर लगाउँदा योनी चिलाउने गरेको उनले सुनाइन् । महिनावारी भएको बेलामा सरसफाइमा बढी ध्यानदिनुपर्ने डाक्टर शर्माको सुझाव छ ।
महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्ने र प्याड चार–चार घन्टामा फेर्नुपर्ने उनले बताइन् । गाउँघरमा महिनावारी हुदाँ कपडाहरु राख्ने हुदाँ त्यसले संक्रमण झन बढाउने डाक्टर शर्माले बताइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४