काठमाडौं– मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले पाएको ९४ रनको लक्ष्य भेट्न नसक्दा नेपाल पुलिस क्लबसँग साँघुरो हार बेहोरेको छ। सोमबार दिउँसो सम्पन्न खेलमा पुलिसले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ९३ रन बनाएपछि सुदूरपश्चिमले ९४ रनको लक्ष्य पाएको थियो।
जवाफमा उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। डेथ ओभर र १९औं ओभरमा सुदूरपश्चिमले सम्हालिन नसक्दा उसले हार बेहोरेको हो। अन्तिम दुई ओभरमा ९ रन चाहिएको अवस्थामा उसले ६ रन मात्र जोड्न सक्यो।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ओपनिङमा राम्रो सुरुआत गरे पनि त्यसपछि राम्रो प्रदर्शन गर्न सकेन।
पुलिसका कुशल भुर्तेलले २१ रन बनाए भने पवन सर्राफले २० रन बनाएका छन्। त्यसबाहेक आरिफ शेखले मात्र जोर अंकमा रन बनाए।
यता सुदूरपश्चिमले सानदार बलिङ गर्यो। नारायण जोशीले चार ओभर बलिङ गर्दै १८ रन दिएर तीन विकेट लिए। त्यस्तै, तीन ओभर बलिङ गरेका आदित्य महताले ९ रन मात्र दिएर तीन विकेट गिराए।
त्यस्तै, शेर मल्लले पनि दुई विकेट गिराएका छन्।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले उस्तै ब्याटिङ गर्यो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७ रन बनाए भने खडक बोहराले १३ रन जोडे। त्यस्तै, नारायण जोशीले २२ रन बनाउँदा अन्य खेलाडीले भने सम्झनलायक नतिजा निकाल्न सकेनन्।
यता बलिङतर्फ पुलिसका आरिफ शेखले चार ओभर बलिङ गर्दै चार विकेट गिराए भने पवन सर्राफ, दीपेन्द्र सिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए।