नोम पेन - कम्बोडियाका प्रधानमन्त्री हुन सेनले म्यानमारको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्।
दक्षिण पूर्वी एसियाली राष्ट्र संघका अध्यक्ष समेत रहेका हुन सेनले म्यानमारको दुई दिने भ्रमण गरेर शनिबार स्वदेश फर्किएका हुन्।
कम्बोडियाका विदेश मन्त्री प्राक सोखोनले दिएको जानकारी अनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय हित, आपसी चासो, क्षेत्रीय सरोकारका विषयमा छलफल गरेको पनि समाचारमा जनाइएको छ।
झण्डै तीस बर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हो। म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएको थियो।
पूर्व सैन्य कमाण्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दै आएका छन्। उनी विश्वमै सवैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन्।
अन्य धेरै देशहरुले सहयोग र सहकार्य बन्द गरेको म्यानमारसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भने सहकार्य बढाउने भएका छन्। जुन्ता सरकारसँग सँगसगै काम गर्ने योजनाका साथ उहाँले भ्रमण गर्नु भएको हो। संसार भरीबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ।