काठमाडौं– स्वर्गीय उज्वल थापाको स्मृतिमा उज्वल थापा फाउन्डेसन स्थापना भएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउन्डेसन स्थापनाको जानकारी दिइयो। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले फाउन्डेसनलाई गैरनाफामूलक, गैरराजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्।
सशक्त, समानुभूतियुक्त एवम् उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले गरेका प्रयासहरुलाई निरन्तरता दिने यो एउटा मञ्च भएको फाउन्डेसनले बताएको छ।
‘यस फाउन्डेसनको दूरदृष्टि सशक्त, समानुभूतिपूर्ण र उद्यमशील समाज बनाउनु हो भने यसको ध्येय नेपालमा नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु हो। यसका लक्ष्यहरुमा नेतृत्व विकासमा सहजीकरण गर्ने, स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउने, सामाजिक अभियान संचालन गर्ने र नागरिकहरुको चेतना बढाउने, न्यायपूर्ण समाज र गुरु राष्ट्र निर्माण गर्ने, उद्यमशीलताको प्रवर्धन गर्ने, पर्यावरणीय हितका क्षेत्रहरुमा काम गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि लगायत अन्य क्षेत्रहरुको प्रवर्धन गर्ने रहेका छन्,’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको लागि संसारभरका २,८०० भन्दा बढी शुभेच्छुकहरूले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको ४२ लाख रूपैयाँ भन्दा बढी रकम सातवटा गैरसरकारी र गैरनाफामूलक संस्थाहरूलाई वितरण गरेका थिए। २०७८ सालको असारमा उज्वलको घरमा गरिएको एक कार्यक्रममाझ यी सातवटा संस्थाहरूलाई रकम हस्तान्तरण गरिएको थियो।
कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा २०७८ जेठ १८ गते निधन भएको थियो।