काठमाडौं– बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन्। शनिबार दरबारमार्गमा रहेको क्लब प्लाटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन्।
फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन्।
नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइओ शाहिल खानले बताए। ‘कौरको ‘राता लम्बिया’ गीत अहिले हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याइएको हो,’ उनले भने।
कार्यक्रममा आसीस कौरका अलावा नेपाली कलाकारको पनि प्रस्तुति रहनेछ। आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ। कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन्।
पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन्। २०२१ को फिल्म फेयर अवार्ड समेत उनले हात पारेकी थिइन्।