काठमाडौं- फिल्म 'आकासे खेती' को गीत 'चिटिक्कै परेर आइछेउ' सार्वजनिक गरिएको छ। केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो।
हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकाश चौधरीको संगीत छ। गीतमा फिल्मका कलाकार मुख्य कलाकार गौरव पहारी, विल्सन बिक्रम राई 'तक्के बुढा', बुद्धी तामाङ 'हैट', नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको कोरियोग्राफी राजिव सिंहले गरेका छन्।
फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ। उदय सुब्बाको निर्देशन रहेको फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई 'तक्के बुढा', बुद्धी तामाङ 'हैट', नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भुमिका छ।
युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतीयन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८औं फिल्म हो। यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन्। फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ। फिल्म युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए।