आइतबार, कात्तिक १, २०८३

किस्सै किस्सामा बाँचिरहेका इरफान खान

अभिनेता इरफान खान दर्शकसामु छैनन्। तर उनका प्रशंसक उनको एउटा स्मृतिमा बाँचिरहेका छन्। आज अभिनेता इरफानको ५४ औं जन्मदिन। यही अवसरमा उनका परिवारका सदस्यहरुले मात्र होइन, उनका प्रशंसकहरुले अभिनेता इरफानलाई आ–आफ्नै ढंगले सम्झिरहेका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

अभिनेता इरफान खान दर्शकसामु छैनन्। तर उनका प्रशंसक उनको एउटा स्मृतिमा बाँचिरहेका छन्। आज अभिनेता इरफानको ५४ औं जन्मदिन। यही अवसरमा उनका परिवारका सदस्यहरुले मात्र होइन, उनका प्रशंसकहरुले अभिनेता इरफानलाई आ–आफ्नै ढंगले सम्झिरहेका छन्। गम्भीर क्यान्सरका कारण २०७७ वैशाख १७ गते निधन भएका यिनै अभिनेताको जन्मदिनमा तयार पारिएकाे सामग्री–

०००

आफू बाँचुन्जेल अभिनेता इरफान खानले कहिल्यै आफ्नो जन्मदिन मनाएनन्, न कि कसैलाई प्रोत्साहित नै गरे। आज जनवरी ७ अर्थात् इरफानको जन्मदिन। छोरा बाबिलले इरफानको एउटा पुरानो पारिवारिक भिडियो सेयर गर्दै उनको सम्बोधनमा लेखे, ‘तपाईले कहिल्यै विवाह, जन्मदिन समारोहजस्ता संस्थाको आडमा आफ्नो पहिचान बनाउनुभएन। सायद त्यही कारण मलाई कसैको जन्मदिन याद रहँदैन किनकी तपाईले कहिल्यै मेरो जन्मदिन सम्झिनुभएन, नकि मलाई तपाईको जन्मदिन सम्झिनलाई नै प्रोत्साहित गर्नुभयो।’

तर, यसपटक इरफानकी श्रीमती सुपातादेखि उनका सन्तान सबैले इरफानको जन्मदिन सम्झिए। ‘अरु बेला सधैं मम्माले सम्झाइदिनुहुन्थ्यो। तर, यसपटक चाहेर पनि तपाईको जन्मदिन भूल्न सकिनँ बाबा,’ छोरा बाबिलले लेखेका छन्। 

उता श्रीमती सुपाताले पनि इरफानलाई सम्झिँदै लेखेकी छिन्, ‘जतिबेला तपाई साँच्चिकै योङ हुनुहुन्थ्यो, मलाई सोध्नुहुन्थ्यो– तिमी आफ्नो जन्मदिन किन मनाउँछौ? के यो तिम्रो मृत्यु दिवसभन्दा एक वर्ष कम होइन र? मलाई थाहा छैन, मैले त्यतिबेला तिमीलाई के जवाफ दिएँ तर आज म दिन चाहन्छु, म यसकारण जन्मदिन मनाउँछु किनभने तिमी जन्मिदैनथ्यौ भने म कसरी भेट्थें र तिमीलाई?’ 

०००

‘संसार खुब शोखसँग सुनिरहेको थियो, म चाहिँ कथा कहँदाकहँदै सुतिगएँ,’ साकिब लखनवीको यो पंक्ति अभिनेता इरफान खानको जिन्दगीमा ठ्याक्कै मेल खान्छ। जयपुरको गल्लीदेखि नेसनल स्कुल अफ ड्रामासम्मको यात्रा। त्यसपछि मायानगरी मुम्बइको संघर्ष। टिभी सिरियल हुँदै बलिउड। बलिउड हुँदै हलिउडसम्मको पहिचान।

इरफानले सफलताको उचाइ त चुमे तर त्यसलाई ‘सेलिब्रेट’ गर्ने समय आएन। न्यूरो इन्डोक्राइन ट्युमरसँगको युद्ध लड्दालड्दै उनले रंगमञ्चबाट पर्दा हटाए। इरफान बितेको एक वर्ष पुग्दा उनका चार प्रिय मित्रले उनीसँग जोडिएका रोचक किस्सा यसरी सुनाएका थिए– 

टिभी स्टेसनमा कलाकार भेटिन्छन् भन्ने सोचेर पहाड चढे

हैदर अली (जयपुर), डिआइजी इन्टेलिजेन्स 

म बच्चैदेखि इरफानलाई चिन्छु। हाम्रो बाल्यकाल एकसाथ बितेको थियो। सुभाष चोकमा हामी छिमेकी थियौँ। ऊ सेन्ट पाल स्कुलमा पढ्थ्यो, म सेन्ट जेभियर्समा। हामी दुवै सँगै स्कुल त जाँदैनथ्यौँ, तर स्कुलबाहेकका समय सँगै गुजार्थ्यौं।

राजस्थान कलेजमा हामी सँगै पढ्थ्यौैँ। म इकोनोमिक्स डिपार्टमेन्टमा थिएँ, इरफान उर्दू। उर्दू डिपार्टमेन्टको प्रमुख मेरो बुबा हुनुहुन्थ्यो। पछि उसलाई थिएटरमा रुचि जाग्यो। हाम्रै साथी अनुप चतुर्वेदीसँग मिलेर उसले थिएटर सुरु गर्‍यो। त्यसपछि दिल्ली एनएसडी गयो। र, त्यहाँबाट मुम्बईको रेल। जब उ नेशनल स्कुल अफ ड्रामाका लागि छनोट भयो, त्यो रात ऊ मलाई उठाउन २ बजे आएको थियो। भनेको थियो, ‘बिहान ५ बजे जाँदैछु। तँसँग भेट्न मन लाग्यो, त्यसैले आएँ। जयपुरले मलाई छाड्दैछ, म जाँदैछु।’ उसलाई सायद लागिरहेको थियो, ऊ हुर्किएको ठाउँ उबाट टाढिँदैछ। 

इरफान निकै ‘इन्टेन्स पर्सन’ थियो। जब ऊ जयपुर आउँथ्यो, हामी एकसाथ चंगा उडाउँथ्यो। चंंगा उडाउन खुब रुचाउँथ्यो। एकपटक चंगा उडाउँदा–उडाउँदै लड्यो र दाहिने हात फ्याक्चर भयो। त्यही हातले ‘फास्ट बलिङ’ गर्न थाल्यो। जोकोही उसको बलबाट आउट हुन्थ्यो। उसको हड्डी बाङ्गो भइसकेको थियो। राति पान खाने, अनि सुनसान सडकमा घुम्ने हाम्रो बानी भइसकेको थियो। 

कसैले नचिनोस् भनेर ऊ टाउकोमा क्याप लगाउँथ्यो। पछिल्लोपल्ट जब ऊ आएको थियो, हामी पुष्कर गएका थियौं। हामीले त्यहाँ जग्गा हेरेका थियौँ। उसलाई त्यहाँ एउटा फार्महाउस बनाउने रहर थियो। 

जतिबेला हामी स्कुलमा थियौँ, त्यतिबेला नाहरगढमा टिभी स्टेसन छ, त्यहाँबाट टेलिकास्ट हुन्छ भन्ने थाहा भयो। इरफानलाई लाग्यो, त्यहाँ एक्टर–एक्ट्रेस होलान्। हामी चुपचाप पहाड चढेर त्यहाँ पुग्यौँ। तर, त्यहाँ कोही पनि थिएन। बच्चैदेखि उसमा हिरो–हिरोइनको मोह थियो। आमासँग उसको गहिरो आत्मीयता थियो। आमा कडा हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो– ‘हैदर मिया, इरफानलाई सम्झाऊ, यो कहाँ गइरहेको छ। यसलाई अभिनय–सभिनयको भूत छाडेर यतै बस्न भन।’

इरफानको घर बाहिर एउटा धोबी बस्थ्यो। एक दिन ९ बजे राति जब हामी घर पुगेका थियौँ, ती धोबी रक्सीले लठ्ठीएर नालीमा लडिरहेका थिए। उसको हातमा घडी थियो, जो अड्किरहेको थियो। इरफानले त्यो देख्यो र भन्यो– ‘यो घडी झर्छ, यसलाई निकाल्छु। भोलि फिर्ता दिउँला, नत्र झरेर बिग्रिन सक्छ।’ इरफानले निकै प्रयास गर्‍यो तर धोबीले घडी उतार्न दिएनन्। उल्टै मुख छाड्न थाल्यो। पछि यही कुरामा हामी खुब हाँसेका थियौँ। 

इरफानको बुबासँग एउटा पुरानो ‘विली स्टाइल’को जीप थियो। हामी निकै साना थियौँ। बुबाले हामी सबैलाई कारमा घुमाउन लान्थे। उनी थोरै डिजेललाई माथि राखेर जिप चलाउँथे। तर केरोसिनले मोडिफाइ गरिएको थियो। उनी मेकानिक कम, इन्जिनियर ज्यादा थिए। इरफान भन्थ्यो– ‘हेर, ‘अब्बू’ जीपलाई मुर्ख बनाइरहेका छन्।’ बाबासँग निकै नजिक थियो उ। बुबालाई ऊ ‘अब्बू जी’ भन्थ्यो। त्यसैले बुबाको मृत्युपछि ऊ निकै दुःखी भएको थियो।

यसपटक इरफानकी श्रीमती सुपातादेखि उनका सन्तान सबैले इरफानको जन्मदिन सम्झिए। ‘अरु बेला सधैं मम्मालाई सम्झाइदिनुहुन्थ्यो। तर, यसपटक चाहेर पनि तपाईको जन्मदिन भूल्न सकिनँ बाबा,’ छोरा बाबिलले लेखेका छन्। 

जब मैले उसको फिल्म ‘मकबूल’ हेरेको थिइनँ उसले मलाई फिल्म नहेर्दासम्म लगातार फोन गरेर सोधेको थियो। भाउजूलाई फिल्म कस्तो लाग्यो? मेरो काम कस्तो लाग्यो? भन्दै सोध्थ्यो। एमबीबीएस गरेको मेरो छोरासँग पनि कुरा गर्थ्यो। खासमा इरफान आफ्नो कुरा कहिल्यै गर्दैनथ्यो, खाली अरुको सुन्थ्यो, अनि तारिफ गर्थ्यो। 

जब २०१८ मा लन्डनमा उपचार गराइरहेको थियो, त्यतिबेला म उसलाई भेट्न गएको थिएँ। देख्नेबित्तिकै अंकमाल गरेको थियो र भनेको थियो– हेर, तँ मुम्बई आउँदैन थिइस्, त्यसैले आज तँलाई लन्डन बोलाएँ। उसले हस्पिटलकै छेउमा फ्ल्याट राखेको थियो। त्यहाँ ऊ टेनिस खेल्थ्यो, साइक्लिङ गर्थ्यो। उसले खाना बनायो, भाँडाकुँडा पनि आफैँ धोयो। उसलाई देखेर कसैले पनि ऊ यति ठूलो रोगसँग लडिरहेको छ भनेर सोच्दैनथ्यो। साँच्चै फाइटर थियो ऊ।

तँ बगाली होस्, सुपातासँग मेरा कुरा गरिदिएस्

अलोक चटर्जी

इरफान र म नेसनल स्कुल अफ ड्रामामा सन् १९८४ देखि ०८७ सम्म सँगै पढेका थियौँ। हामीले ३ वर्ष हरेक नाटकमा लिड रोल गर्‍यौँ। अभिनयलाई लिएर इरफान निकै गम्भीर थियो। कम बोल्थ्यो, साथीहरुबीच लोकप्रिय थियो र हँसाउनमा माहिर।

एनएसडीमा इन्टरभ्यूको दौरान उसले भनेको थियो– ‘एफटीआईआई (फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया) मा अहिले एक्टिङको कोर्स छैन, त्यसैले म एनएसडी आएको हुँ। किनकी मलाई सिनेमाको अभिनेता बन्नु छ। सिनेमाको पनि यस्तो अभिनेता बन्नु छु, जसको अभिनय देखेर निर्देशक स्वयम् नजिक आओस्।’ यो उसको सपना थियो र जीवनको दौडमा उसले यो हासिल पनि गर्‍यो।

एनएसडीमा छनोटको नतिजा हेर्दाताकाको समय म अझै सम्झन्छु। इरफान पछाडि उभिएको थियो। मैले सोधेको थिएँ– ‘तिमी कुन ‘डोरमेट्री’ हो?’ उसले भनेको थियो – ‘म ५ नम्बर ‘डोरमेट्री’मा हो। ’ उसले मलाई सोधेको थियो– ‘के तिमी मुस्लिम हो?’ जवाफमा मैले सोधेको थिएँ– ‘के तिमी बंगाली हो?’ जवाफमा उसले भनेको थियो–‘होइन, म मुस्लिम हुँ।’ त्यसपछि मैले भनेको थिएँ– ‘म बंगाली हुँ।’ एनएसडीमा यो हाम्रो पहिलो कुराकानी थियो। एनएसडीमा हामी एकसाथ सँगै भयौँ। त्यसपछि पनि हाम्रो सम्पर्क भइरह्यो।

सन् २००५ मा जतिखेर म मुम्बईमा अनुपम खेर सरको घरमा गएको थिएँ, त्यतिबेला म उसलाई भेट्न पनि गएको थिएँ। त्यतिबेला ऊ एकदमै ठूलो स्टार बनिसकेको थियो, तर हामी भेट्यौँ उसैगरी जसरी एनएसडीका दिनहरुमा भेट्थ्यौँ। उसको उस्तै सादगीपन मलाई त्यतिबेला महसुस भयो जतिबेला मैले सिगरेट पिएँ, उसले बिँडी। सँगै चिया पियौँ, बदाम खायौँ।

म उसको श्रीमतीलाई पनि राम्रोसँग चिन्छु। र, उनी पनि मेरो श्रीमतीलाई राम्रोसँग चिन्छिन्। किनकि हामी दुवैको प्रेम सम्बन्ध एकै समयमा चलेको थियो। म एक किसिमले इरफानको दूत थिएँ। इरफानको लभ म्यारिजको प्रस्ताव लिएर म नै सुपाताकहाँ पुगेको थिएँ। म पनि बंगाली थिएँ र सुपाता पनि। त्यसले इरफानले मसँग भनेको थियो– तिमी नै भरोसा गर्न लायक व्यक्ति हो, जाऊ गएर कुरा गर।’

जब म उसको म्यासेज लिएर पुगेँ, त्यतिबेला सुपाताले सोधिन्, ‘आलोक, तिमी किन आयौ? ऊ डराउँछ हो?’ जवाफमा मैले भनें, ‘हैन, ऊ असल केटा हो। मात्रै मुस्लिम हो र तिमी बंगाली।’ 

त्यसपछि सुपाताले भनिन्, ‘हामी कलाकार हौँ। हाम्रो कुनै धर्म हुँदैन। कला हाम्रो इमान हो।’ यही कुरा लिएर म इरफानकहाँ पुगें। त्यसपछि दुवैवीच मित्रता भयो र सुस्तसुस्त प्रेम। उनीहरुले एनएसडीबाट निक्लिएको चार वर्षपछि बिहे गरे। सायद १९९१–९२ तिर हो कि? यसको कारण सायद मुम्बईको संघर्ष थियो। ऊ सबैसँग भन्थ्यो– आलोक मेरो लागि हनुमानजस्तै दूत बन्यो, हनुमान रामको सन्देश लिएर सीताकहाँ पुगेका थिए र आलोक मेरो सन्देश लिएर सुपाताकहाँ पुगे। 

जब गोही बनेर सुतेका थिए इरफान

आलोक कक्षाको एक किस्सा कहिल्यै बिर्सन्नन्। ‘मोहन महर्षि हाम्रो टिचर र डिरेक्टर थिए। एक दिन ‘रियालिस्टिक क्लास’मा उनले हामीसँग कुनै एक जनावरजस्तो महसुस गरेर अभिनय गर्न भने। त्यतिबेला कोही कुकुर बने, कोही बिरालो। इरफान पेटमुनि सुत्यो। त्यतिबेला मोहन सरले साधे– तिमी कुन जनावर बनेको? जवाफमा इरफानले भन्यो– ‘सर, म गोही। ऊ धुप सेकिरहेको छ।’ हामी सबै हाँस्यौँ। सर पनि हाँसे। उ देखिँदाखेरी शान्त थियो तर उभित्र गज्जबको ‘सेन्स अफ ह्यूमर’ थियो।’ 

अर्को एक दिन मोहन महर्षि सरले सबैलाई एक एकवटा ‘रियालिस्टिक’ काम गर्न लगाए। इरफानले एउटा मजदुरको क्यारेक्टर लियो। उसले एउटा बोरा उठायो, घुमघाम गर्‍यो र आएर बस्यो। सरले सोधे– के बन्यौ? के गरिरहेका छौ? जवाफमा उसले भन्यो– ‘मजदुर हुँ। भारी बोरा उठाएर ल्याएको छु। थाकेको छु, बीँडी पिउँछु।’ त्यसपछि ऊ बीँडी पिउन थाल्यो। 

एक दिन इरफान रिसाएको मेडिटेसन अभ्यास गरिरहेको थियो। होलिको दिन थियो त्यो। सबैले चिसो पिए र उसलाई पनि पिलाए। त्यतिबेला उ बोल्यो– ‘मलाई रिस उठिरहेको छैन, मलाई हाँस किन उठिरहेको छ? चिसो पिएर रिस कहाँ उठ्छ र!

इरफानले सुरुवातमा मुम्बईमा खुब संघर्ष गर्‍यो। ६ घण्टा कल सेन्टरमा जागिर गर्‍यो, बाँकी समय स्टुडियो चहार्‍यो। सुरुमा ‘डिस्कवरी अफ इन्डिया’ सिरियलबाट ब्रेक मिल्यो। त्यसको ८ वर्षपछि टेलिभिजनको सबैभन्दा पपुलर स्टार बन्यो। त्यसपछि उसलाई पहिलो फिल्म मिल्यो। करिब ४२ वर्षको उमेरमा ऊ सिनेमामा आयो। तर जब आयो, त्यसपछि अमिताभ बच्चनदेखि टम हंक्ससम्मको एक्टरसँग काम गर्ने गरी आयो। 

ऊ सुरुदेखि नै नसीरुद्दिन शाहलाई खुब मान्थ्यो। ऊ भन्थ्यो, ‘फिल्ममा जुन रियालिस्टिक एक्टिङ हुन्छ, त्यो नसीर सरले गर्नुहुन्छ। राम्रो रोल मिल्यो भने मान्छे सफल हुन सक्छ।’ ‘पान सिंह तोमर’ मा उसको सर्वश्रेष्ठ अभिनय छ। त्यो क्यारेक्टरलाई उसले निभाएको मात्र थिएन, बाँचेकै थियो। 

अमिताभसँगको झगडाको किस्सा

इरफान खानका को–स्टार र फिल्म ‘पीकु’मा बुद्धन (अमिताभ बच्चनका कामदार) को भूमिका निभाएका अभिनेता बालेन्द्र सिंह भन्छन्, ‘सुटिङमा इरफान आफ्नो स्क्रिप्ट पाउनेवित्तिकै सोच्न थाल्थे। उनी कुनामा गएर सिगरेट पिउँदै पात्रलाई परिष्कृत गर्नतिर लाग्थे। त्यो क्यारेक्टरलाई कसरी बाँच्ने भनेर खुब सोच्थे। सोच्दासोच्दै कहिले भुइँमा बसिरहेका हुन्थे, कहिले गाडीको छेउमा। साँच्चै निकै कम बोल्थे तर ज्यादा सोच्थे उनी।’

सबैभन्दा रोचक यो थियो कि जब हामी केही सिनको रिहर्सल गर्थ्यौं, निकै हँसीमजाकमा सुटिङ नै भइसक्थ्यो। किनकी हर प्रहर हामी चारैजना कलाकार थियौँ। कलकत्ता जाँदाखेरी बाटोमा चक्कु हान्नेवाला दृश्यलाई परिष्कृत गर्नुपर्ने थियो। यसमा डाइलग थिएन। इरफान र अमिताभबीच झगडा गर्नुपर्ने परिस्थिती बताइएको थियो। दुवैले रिहर्सल थाले। ‘ए अंकल, अंकल नहीँ, भाइ साहब, भाइ साहब नहीँ।’ 

त्यतिबेला इरफानले सोधे– ‘क्या बोलूँ आपको?

त्यसपछि अमितजी बोले, ‘अरे कुछ भी बोलो, जब तक वो कट नही बोलेंगे। हम खेलते रहेंगे।’ 

त्यसपछि जबसम्म कट भनिएन, अमिताभ, इरफान र दीपीकाले सिनलाई ‘इम्प्रोभाइज’ गरिरहे। म कारमा बसेर सुनिरहेँ। पछि कट सुन्नासाथ हामी सबै खुशी भयौँ। 

‘मलाई अझै गुन्डा चाहिन्छ, पैसा त लिनैपर्छ’

जयपुरमा इरफानको साथी र ‘पानसिंह तोमर’मा उनको भाइ मातादीन सिंहको क्यारेक्टर निभाएका अभिनेता इमरान हसनी भन्छन्, ‘हाम्रा अग्रज र इरफानका अग्रज जयपुरमा एकै ठाउँका थिए। त्यसैले जयपुरमा हाम्रो पहिलेदेखि नै दोस्ती थियो। मुम्बई आएपछि हामीबीच भेटघाट बाक्लियो। त्यसपछि हामी धेरैपल्ट इदको समय सँगै भयौँ।’

मलाई ‘पान सिंह तोमर’को सुटिङको एक वाक्य याद छ। हामीलाई देहरादूनमा आर्मी एरियामा सुटिङ गर्नु थियो। त्यहाँ अनुमति मिलेन। हामी तीन दिन त्यही बस्यौँ। एक दिन इरफानले भन्यो, ‘जाउ, नजिकै गाउँ घुमेर आउनुपर्छ। म, इरफान केही व्यक्ति तीन किलोमिटर अगाडी पैदल घुम्यौँ। त्यहाँ पुग्नेवित्तिकै ‘लिक्विड गुड’ बनिरहेको थियो। त्यसको बास्ना आइरहेको थियो। 

जब गुड बनाउनेलाई हामी अर्कै शहरबाट आएको थाहा भयो, त्यसपछि उनले हामीलाई पाहुनासरह गुड खुवाए। निकै स्वादिष्ट थियो। पछि इरफानले सोध्यो– ‘कति पैसा भयो?’ जवाफमा साहुजीले भने– ‘हामी पाहुनासँग पैसा लिन सक्दैनौँ।’ 

त्यसपछि इरफानले आफूलाई अझै गुड लानुपर्ने भएकाले मूल्य बताउन भन्यो। तर, साहुजी मानेनन्। भने, ‘यो सम्झिनुस् कि तपाईले आफ्नो भाइको घरमा आएर खानुभयो।’ त्यसपछि इरफानले उनीसँग अंकमाल गर्‍यो। र, भन्यो, ‘यो हाम्रो हिन्दुस्तान हो र यो यहाँको संस्कार।’ त्यसपछि हामी तीन दिनसम्म लगातार त्यहाँ गइरह्यौँ र त्यसैगरी हाम्रो खुब सत्कार पनि भइरह्यो।

इरफानसँग अन्तिम भेट मुम्बईबाट हस्पिटल जानुअघि उनकै घरमा भएको थियो। बिरामीको दौरान उनी निकै सकारात्मक थिए। केही पनि डिप्रेसनवाला कुरा गर्दैन थिए। निकै चिन्तित थिए। उनको मुहारमा कुनै चमक थिएन। सधैझैं त्यसदिन पनि उनले मसँग अंकमाल गरे, बाहिरसम्म छोड्न आए। त्यसपछि भनेका थिए, ‘जयपुर जाँदाखेरि सबैलाई मेरो सलाम भन्दिनु। खुदा हाफिज।’

त्यसपछि जब उनी हस्पिटलमा थिए, त्यतिबेला एकपटक उनीसँग फोनमा कुरा भएको थियो। बाबिलले लाउड स्पिकर गरेर कुरा गराएको थियो। त्यतिबेला पनि उनले भनेका थिए, ‘भाइ, चिन्ता नगर। म ठीक छु। चाँडै आउँछु। त्यसपछि हामी सँगै चंगा उडाउन जयपुर जानुपर्छ।’ तर, विडम्बना त्यसपछि हाम्रो भेट उनको दाहसंस्कारमा मात्रै भयो। 

(दैनिक भाष्करमा प्रकाशित यो सामग्री अनिल यादवले भावानुवाद गरेका हुन्)

प्रकाशित: Jan 07, 2022| 16:16 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।