विराटनगर- नेकपा एमालेले शुक्रबार ७७ वटै जिल्लामा एक साथ जिल्ला अधिवेशन सुरु गर्दै छ। एमालेको जिल्ला अधिवेशन पनि राष्ट्रिय महाधिवेशन जस्तै सुनसान छ।
प्रदेश १ का केही जिल्लामा समूहगत प्रतिस्पर्धा बाहेक सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भएको छ। जिल्ला अधिवेशनहरूमा अघिल्ला अधिवेशन जस्तो रौनकता छैन। सामान्य रूपमा सुरु भएर सामान्य रूपमा सम्पन्न हुने भएपछि अधिवेशनले कार्यकर्ताहरूमा पनि खासै ऊर्जा दिएको छैन।
अघिल्ला अधिवेशनहरूमा प्रतिनिधि छनौट देखि नै समूहगत प्रतिस्पर्धा हुने गरेको थियो। एमालेबाट विभाजित भएर माधवकुमार नेपालले नयाँ पार्टी खोलेसँगै एमालेका अधिवेशनहरू सामान्य तरिकाले अघि बढेका छन्।
ताप्लेजुङमा समूहगत प्रतिस्पर्धा
ताप्लेजुङको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा भूपेन्द्र थेबे र बलबहादुर साम्सोहाङवीच प्रतिस्पर्धा हुने निश्चित छ।
ताप्लेजुङमा वडा कमिटी देखि नै प्रतिनिधिहरू छुट्टिएर आएका छन्। साम्सोहाङ तत्कालीन नेकपा हुँदाका अध्यक्ष हुन। थेबे नेकपामा विवाद भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बनाएको समानान्तर कमिटीका अध्यक्ष हुन।
सुनसरीमा सर्वसम्मतको प्रयास
सुनसरीमा अध्यक्ष र पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।
पूर्वअध्यक्षहरू रेवतीरमण भण्डारी र द्वारिकालाल चौधरी अध्यक्षको दौडमा छन्। त्यस्तै हालका अध्यक्ष खेमराज पोखरेलले आफ्नो नाममा सर्वसम्मतको प्रयास गरेका छन्। पोखरेल चौधरी र भण्डारी भन्दा बलियो अवस्थामा छन्। भण्डारी यसअघि तीन पटक अध्यक्ष भइसकेका नेता हुन्। पछिल्लो समय भीम आचार्यसँग दुरी बढे सँगै ओली समूहमा उनको निकटता बढेको थियो। त्यसअघि उनी एमाले भित्र पनि माधव नेपाल समूहका खास नेता थिए।
चौधरीले पनि एमाले भित्र आफ्नो स्थान खोजिरहेका छन्। केन्द्रीय सदस्यमा नपरेपछि उनी अध्यक्ष दोहोर्याउने लाइनमा रहेका छन्। नेता रामप्रसाद चौलागाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। पोखरेलले सर्वसम्मत नेतृत्व चयनको सम्भावना बढ्दै गएको बताएका छन्।
यसअघिको लामो विवादपछि आफ्नै नाममा सहमति भएको स्मरण गराउँदै उनले पूर्ण कार्यकालको लागि अध्यक्ष हुने बताए।
मोरङमा पोखरेल निश्चित
एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निश्चित छन्। मोरङमा पदाधिकारी सहित सदस्यहरू पनि सर्वसम्मत हुने नेताहरूले बताएका छन्। मोरङमा कुनै समस्या नभएको सचिव रूपेश खतिवडाले बताए। ८औं अधिवेशनमा पोखरेल सचिवमा निर्वाचित भएका थिए।
तत्कालीन अध्यक्ष विनोद ढकाल नेकपाको केन्द्रीय सदस्य बनेसँगै नेकपा मोरङको संयोजक पोखरेललाई बनाइएको थियो। एमाले मोरङमा अध्यक्ष पदमा कसैले पनि हाल सम्म दाबी गरेका छैनन्। अन्य पदहरूमा सामान्य दाबी गरे पनि खुलेर कसैले पनि दाबी नगरेको नेताहरूले बताएका छन्। मोरङमा सबै पदमा सर्वसम्मत गराउने नेताहरू लागि परेको एक जिल्ला सदस्यले बताए।
झापामा कार्कीलाई अध्यक्ष बनाउने तयारी
झापामा दीपक कार्कीलाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी भएको छ। अध्यक्ष ओलीको गृह जिल्लामा नेतृत्व चयनमा कुनै विवाद छैन भन्ने सन्देश दिनका लागि समेत सर्वसम्मत रूपमा पदाधिकारी चयनको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
पार्टीको जिल्ला उपाध्यक्ष भइसकेका कार्की संविधानसभा सदस्य पनि हुन। ०६४ को संविधान सभाको निर्वाचनमा झापाबाट प्रत्यक्षमा उनी मात्र निर्वाचित भएका थिए। उनलाई सर्वसम्मत अध्यक्ष चयन गर्न प्रयास भइरहेको नेताहरूले बताएका छन्।
अध्यक्षमा अर्का संविधानसभा सदस्य प्रेम गिरी र वर्तमान पार्टी सचिव मदन अधिकारीले पनि दाबी गर्दै आएका छन्। तर, गिरी र अधिकारीलाई अन्य पदमा मिलाएर लैजाने र अध्यक्षमा कार्कीलाई निर्विरोध बनाउने विषयमा सहमति भइसकेको एक नेताले बताए। जिल्ला अधिवेशनबाट १५० सदस्यीय कार्य समिति निर्वाचित हुनेछ।
पार्टीको नेतृत्वमा अगुवा नेताहरूले दाबी प्रस्तुत गरिरहेको भए पनि सर्वसम्मत चयन गर्न कार्यकर्ताको चर्को दबाब रहेको नेताहरूले बताएका छन्।