काठमाडौं- नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमाथि पुल बन्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतीय मन्त्रिपरिषद् बैठकले महाकाली नदीमाथि पुल बनाउन नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटमार्फत् बिहीबारको क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै यो विषय समावेश गरेका छन्। भारतले तीन वर्षमा निर्माण सम्पन्न हुने गरी पुल बनाउने तयारी भारतको छ।
उनले भनेका छन्, 'प्रधानमन्त्री मोदी नेतृत्वको मन्त्रिपरिषद्ले आज महत्वपूर्ण निर्णयहरु गरेको छ। नेपाल र भारतबीच महाकाली नदीमा पुल बनाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने अनुमति दिने निर्णय गरेको छ। यसले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने छ।' भारतले चाँडै नै नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर हुने समेत उल्लेख गरेको छ।
यसअघि बुधबार बसेको नेपालको मन्त्रिपरिषदको बैकले दार्चुलकोस्थित महाकाली नदीमा पुल बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ।
'दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ’ सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले भनेका छन्।
महाकाली नदीमा तुइन तर्ने क्रममा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए। उक्त घटनाको छानबिन समितिले बुझाएको प्रतिवेदनमा भारतीय सशस्त्र सीमा बलको संलग्नता भएको उल्लेख गरिएको थियो।
यस विषयमा थप बुझ्न गृहले परराष्ट्रलाई उक्त परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाएको थियो। परराष्ट्र मन्त्रालयले यसबारे भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो। भारत सरकारले भने उक्त कूटनीतिक नोटको कुनै जवाफ दिएको छैन।