काठमाडौं - नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्नबारे बतास समूहको संलग्नताका विषयमा छानिबिन गर्न समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बिहीबार छानबिन समिति गठन गरेको हो। मन्त्रालयले सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। समितिलाई तीन दिनको म्याद दिई राय/सुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको छ।
समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन्।
बतास समूह अन्तर्गतको बीपीएस लिजिङ कम्पनीसँग योगेश भट्टरा मन्त्री हुँदा भएको भनिएको सम्झौता विवादमा तानिएपछि पर्यटन मन्त्री आलेले उक्त निर्णय खारेज गर्न मौखिक आदेश दिएका थिए।
उनले अघिल्लो सरकारका पालामा एउटा व्यापारिक समूहलाई गणतन्त्र स्थापनापछि सङ्ग्रहालय बनेको उक्त दरबार परिसरमा 'क्याफेटेरिया सञ्चालन गर्न दिने निर्णय पहिलो दृष्टिमै गलत भएको' बताएका थिए।
मन्त्री आलेको निर्देशनपछि सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकले नारायणहिटी परिसरमा क्याफ्टेरिया सञ्चालनका लागि बतास समूहले बनाइरहेका संरचना सहित सम्पूर्ण निर्माणका काम रोक्न पत्राचार गरेका थिए।