काठमाडौं - सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय तहको सुरक्षा तयारीबारे छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचनको लागि सुरक्षा प्रबन्ध कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षाकर्मीको संख्या र सुरक्षा अवस्थाको बारेमा गृहमन्त्री खाणलाई जानकारी गराएका हुन्। त्यस्तै, पछिल्लो सुरक्षा चुनौती र सुरक्षाकर्मीको अवस्थाको बारेमा पनि समिक्षा गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा छलफल भएको बताए। उनका अनुसार राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे केन्द्रित भएर छलफल गरिएको थियो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले बताए।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालगायतको सहभागिता रहेको थियो।